Logo

बागमती पेज

फाल्गुन १५, २०७९ सोमबार

शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद


काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो । साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ ।

न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ । अदालतले आफ्नो वेबसाइटमा शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।

आदेशानुसार अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्नेछ । शिल्पाका कानुन व्यवसायी रमेशप्रसाद गुरागाईंले शिल्पाले न्याय पाएको अनुभूति गराउन आफूहरु सफल भएको प्रतिक्रिया दिए ।