Logo

भवानी कार्की

फाल्गुन १९, २०७९ शुक्रबार

गुणस्तरीय सिकाई नै पहिलो लक्ष्य हो: प्रधानाध्यापक श्रेष्ठ


काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकामा रहेको श्री कुटीडाँडा माध्यमिक विद्यालय मकैबारीका प्रधानाध्यापक शङ्कर लाल श्रेष्ठले संस्कारयुक्त गुणस्तरीय सिकाईको व्यवस्थापन गरेर मात्र विद्यालयबाट बाहिरिने बताएका छन् । विद्यालयको ४७ औँ वार्षिक उत्सवमा आफ्नो भनाई राख्दै शिक्षण सिकाइमा विद्यालयलाई जिल्लाकै नमुना बनाउने योजना रहेको बताएका हुन् ।

परीक्षामा जिल्लाकै सामुदायिक विद्यालय मध्यको उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको कुटीडाँडाले आगामी दिनमा पनि अतिरिक्त क्रियाकलाप सहित तारिफ योग्य नतिजा ल्याउन सफल बन्ने प्रधानाध्यापक श्रेष्ठले बताएका छन् ।

उनले भने, “शैक्षिक सुधारका लागि सार्वजनिक बिदा भन्दा बाहेक अन्य दिन विद्यालय बिदा नगर्ने तयारीमा छौँ । साथै अभिभावकसँग नियमित भेटघाट तथा बैठक गर्ने, मासिक परीक्षा सञ्चालन गर्नुका साथै परीक्षाबाट आएको नतिजालाई पृष्ठपोषण सहित प्रगति विवरण पेस गर्ने कार्यक्रम तय गरेका छौँ ।”

व्यवस्थापकीय पक्ष र शैक्षिक पक्ष  मिलेर विद्यालयलाई कसरी नमुना बनाउने सम्बन्धमा विभिन्न कार्यदल बनाएर काम गरिरहेका छौँ । त्यसका लागि आगामी शैक्षिक शस्त्रबाट अङ्ग्रेजी माध्यमलाई विशेष केन्द्रित गर्दे एक जना शिक्षक नियुक्त गर्ने योजना रहेको छ । आधारभूत तहमा पुर्णरुपमा अङ्ग्रेजी माध्यमलाई कार्यान्वयन गर्ने लक्ष्य रहेको छ, उनले थपे ।

त्यस्तै टाढाबाट आउने शिक्षकका लागि शिक्षक क्वाटर र विद्यार्थिहरुका लागि छात्र वासको व्यवस्था गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानाध्यापक श्रेष्ठले बताएका छन् । उनका अनुसार, विद्यालयमा भौतिक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ । साथै विद्यालयले योगा कक्षालाई महत्त्व दिएको छ भने विद्यार्थीहरूका लागि सिलाई कक्षा समेत  सञ्चालन भइरहेको छ । बदलिँदो समयसँगै पाठ्यक्रम पनि परिवर्तन हुने भएकाले शिक्षकहरूका लागि पनि तालिमको व्यवस्था भइरहेको जनाएका छन् ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न समेत गरेको छ । विद्यालयले जेहेन्दार छात्रवृत्ति वितरणका साथै कुटीडाँडा स्मारिका  विमोचन गरेको छ । त्यस्तै कम बिदा लिने शिक्षक तथा असल अभिभावकलाई सम्मान पनि गरेको छ ।

विद्यालयको वार्षिक उत्सवमा दोलखा क्षेत्र नं ख का सांसद भरत केसी, नगर प्रमुख ईश्वर नारायण मानन्धर, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठ र नगर शिक्षा शाखा प्रमुख अर्जुन कार्की, भीनपा ७ का वडा सदस्य लगायत छिमेकी विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षासेवीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

सस्थापक प्रधानाध्यापक र संस्थापक विद्यालय सञ्चालक समिति अध्यक्ष अभिनन्दन गरिएको थियो भने एकलाख सत्तरी हजारको अक्षयकोष स्थापना गर्ने चित्रकुमारी थापा र भीम प्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।