Logo

मेघनाथ पहाडी

चैत्र १२, २०७९ आईतबार

बूढानीलकण्ठ मेला, स्थानीय कृषकमा छायो खुशीयाली


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका भित्रका कृषक तथा उद्यमीहरुमा केही नयाँ अपेक्षा र केही गरिन्छ भन्ने आशा पलाएको छ । नगरपालिकाले चैत्र ३ र ४ गते दुई दिन कृषि मेला तथा सीप सम्मेलन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कृषक तथा उद्यमीहरुको उत्साहजनक रुपमा उपस्थिति रहेको थियो ।

मेला तथा सम्मेलनले केही नयाँ आसा र पक्कै केही गरिन्छ भन्ने नयाँ सोचविचार र आत्मविश्वास बढेको स्थानीय कृषकहरुले बताएका छन् । आगामी दिनमा नगरले यस किसिमका कार्यक्रम नयाँ र अझ प्रभावकारी ढंगले संचालन गर्न स्थानीयहरुले नगरलाई सुझाएका छन् ।

छोटो समयमा गरिएको तयारी भएपनि सीप सम्मेलन तथा कृषि मेला आयोजनाले उद्यमी र कृषलाई थप आत्मविश्वास प्राप्त गरेको स्थानीय व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुले नयाँ आउने युवा पुस्तालाई पनि हामीबाट केही सिक्ने र सहज रुपमा व्यवसाय तथा कृषि पेशामा आउनुपर्छ भनेर उत्पे्ररणा दिने गरेका छन् ।

नगरपालिका उपप्रमुख अनिता लामाले नगरपालिका भित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको बताएकी छन् । बूढानीलकण्ठ नगरपालिका कृषि उत्पादन तथा घरेलु व्यवसाय मार्फत स्वरोजगार विकास गर्न सम्मेलन आयोजना गरिएको उनको भनाई छ । आगामी दिनमा नगरले कृषकलाई ध्यानमा राखेर विभिन्न नयाँ काम गर्ने योजना रहेको बताईन् ।

उपप्रमुख लामाले आगामी वर्षको नीति तथा कार्यक्रमको लागि आधार तयार गर्न र आगामी आव मा कस्ता खालका सीममूलक तालिम तथा कृषिलाई केन्द्रीत गरी उपलब्धिमूलक कार्यक्रम तयार गर्न सकिन्छ भन्ने परिक्षण गर्न समेत सीप सम्मेलन तथा कृषि मेला गरिएको धारणा राखेकी थिईन् ।

२ दिन सम्म संचालन भएको मेलामा ७१ वटा स्टलहरु राखिएको थियो । स्थानीयहरुले हातबाट बुनेका सामान, काठबाट बनाईएका, गाँजा र अल्लोबाट बनाईएका कपडाहरु, जैविक खाने परिकार, विषाधीरहित तरकारी, विभिन्न तरकारीका बीउविजन, हातबाट बुनेका विभिन्न डिजाईनका कपडा तथा अन्य सामानहरु स्टलमा प्रदर्शन गरिएको थियो ।