Logo

बागमती पेज

चैत्र १३, २०७९ सोमबार

एसइईका लागि २ हजार ३७ परीक्षा केन्द्र, ७८ हजार जनशक्ति खटिँदै


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १७ गतेदेखि सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। एसइई परीक्षाको तयारी कसरी गर्ने रु भनी विद्यार्थीहरू तयारी गरिरहेका छन्।

यो परीक्षाको लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार एसइई परीक्षा सञ्चालनका लागि देशभर करिब ७८ हजार जनशक्ति खटिने छन्।

‘परीक्षामा केन्द्र अध्यक्ष, सहायक केन्द्र, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरि करिब ७८ हजार जनशक्ति खटिने छन्,’ उनले भने। उनले यी जनशक्तिहरूलाई खटाउन सबै तयारी अवस्थामै रहेको उनले जानकारी दिए।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी हुँदै छन्। जसमा महिला २ लाख ५५ हजार ९१७ जना र २ लाख ६० हजार ६७४ पुरूष छन्।

गत वर्षको एसइई परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको थियो।

परीक्षा नियन्त्रक श्रेष्ठले यस वर्ष हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लाहरूमा पुगिसकेको छ। अहिले यी प्रश्नपत्र र उत्तरपुस्तिका ती तोकिएका परीक्षा केन्द्रहरूमा पुर्‍याउने काम भइरहेको उनले जानकारी दिए।