Logo

बागमती पेज

चैत्र १५, २०७९ बुधबार

बागमती प्रदेशका १ हजारभन्दा बढी सञ्चारकर्मीको दुर्घटना बीमा


हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत १ हजार बढी सञ्चारकर्मीको दुर्घटना बीमा गरिदिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिदिएको हो । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको जानकारी दिए ।

उनका अनुसार यही चैत ५ गतेबाट लागु हुने गरी ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमांक रकमको बीमा गरिएको हो । बिमित पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा ४ लाख र दुर्घटनामा परी घाइते भएमा १ लाख रुपैयाँ बराबरको औषधी उपचार खर्च भुक्तानी दाबी लिन सकिनेछ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पत्रकारको बीमाको काम छिटो गर्न निर्देशन दिएसँगै सामूहिक दुर्घटना बीमा कार्यान्वयन भएको हो ।