Logo

बागमती पेज

चैत्र १५, २०७९ बुधबार

चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा


काठमाडौँ । यही चैत १७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा केन्द्र तोक्नेदेखि काठमाडौँ उपत्यकाका बाहेक सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका र प्रश्न–पत्र पुर्‍याइसकिएको परीक्षा नियन्त्रक तोकिएको नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

दृष्टिविहीन परीक्षार्थीलाई भने आफू अध्ययन गरिरहेकै विद्यालयबाटै परीक्षा दिन सक्ने गरी व्यवस्था गरिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

यस पटकको एसइई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ भने ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा सबैभन्दा बढी १ लाख ६ हजार विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ४१ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसपटक विद्यार्थीलाई सहज हुने गरि नै परीक्षा केन्द्र तोकिएको नियन्त्रक श्रेष्ठ बताउँछन् ।

एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन १७ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । दोस्रो दिनको परीक्षा चैत १९ अनिवार्य गणितको छ भने चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

त्यस्तै, चैत २२ गते अनिवार्य विज्ञानको परीक्षा हुने तालिका रहेको छ भने वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।