Logo

भवानी कार्की

चैत्र २०, २०७९ सोमबार

जसले गरे अस्पतालकै शय्याबाट ४० रोपनी जग्गा दान…


काठमाडौँ । दोलखा जिल्ला मेलुङ घर भएका भीम बहादुर थोकरको यही २०७९ असारमा निधन भयो । आफ्नो मृत्यु हुनभन्दा अघि अस्पतालकै शय्याबाट थोकरले मेलुङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ४० रोपनी जग्गाको लागि हस्ताक्षर गरेका छन् ।  

थोकरले भेड्पुको पोखरीमा रहेको आफ्नो ४० रोपनी जग्गा पालिका भवन निर्माणका लागि दान गरेका हुन् । विकास निर्माणका कार्यमा अग्रसर रहने उनले परिवारकै सहमतिमा जग्गा दान गरेको परिवारले जनाएको छ । थोकरमा विकास निर्माणमा योगदान गरौँ भन्ने सेवा भाव रहेको उनका छोरा रमेश थोकरले बागमती पेजलाई जानकारी दिए । 

उनले भने, बुवा एकदमै मनकारी हुनुहुन्थ्यो । विकास निर्माणका कार्यमा आफू पनि अग्रसर हुनुहुन्थ्यो हामीलाई पनि प्रेरणा दिनुहुन्थ्यो । जीवनमा केही पुण्यको काम गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । बुवाले विकास निर्माणका कार्यमा निकै चासो राख्नुहुन्थ्यो । 

स्थानीय चुनाव सकिने क्रममा बुवा बिरामी हुनुहुन्थ्यो, बुवाले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा दान गर्ने प्रस्ताव भने पहिले नै राख्नुभएको थियो । बुवाको इच्छालाई आत्मसात् गर्दे हामीले पनि साथ दियौँ । त्यस पश्चात् अस्पतालकै शय्याबाट जग्गाको कागजमा हस्ताक्षर गर्नुभयो ।

मृत्यु हुनुअघि भीम थोकर

स्वर्गीय थोकरले मुडे मेलुङ सडक खण्डका लागि तथा नयाँ पुल पोवटी निर्माणका क्रममा पनि आफ्नो जग्गाबाट निकास दिएको छोरा थोकरले बताएका छन् ।  श्रीमानको सेवा भावबाट प्रभावित भएकी थोकरकी ७० वर्षीय श्रीमती बत्तु थोकरले श्रीमानले पालिका भवन निर्माणमा जग्गा दान गरेकोमा खुसी व्यक्त गरेकी छन् । 

उनले भनिन् ,राम्रो सँग भवनको निर्माण भए श्रीमानको आत्माले शान्ति पाउने छ । आगामी दिनमा श्रीमानको आत्मा सान्तीका लागि मैले जे गर्नुपर्छ गर्नेछु । 

स्थानीय सरकार देखी नै भाडाको घरबाट सेवा प्रवाह गर्दे आएको मेलुङ गाउँपालिकाले अब भने निर्धारित केन्द्रमा भवन निर्माण गर्न गर्नेछ । हाल मुडे मेलुङ सडक अन्तर्गत पर्ने जोरधार क्षेत्रबाट सेवा प्रवाह गर्दे आइरहेको छ । जग्गाको व्यवस्थापन भएसँगै यही वर्ष भवन निर्माणका लागि डिपिआर हुने मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले बागमती पेजलाई जानकारी दिएका छन् । 

अध्यक्ष थोकरका अनुसार, मुडे मेलुङ सडक खण्ड अन्तर्गत पर्ने पोखरी क्षेत्रमा पालिकाको स्थायी केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन भएसँगै केही समय अघि गाउँ सभाबाट पारित गरेर बागमती प्रदेश सरकारलाई जानकारी गराएको थियो ।