Logo

मेघनाथ पहाडी

चैत्र २१, २०७९ मंगलबार

नगरप्रमुख कार्की समेत ६५ जनाले अङ्ग दान दिने घोषणा


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्यु पश्चात अङ्गदान र २३ जनाले आँखा दान दिने घोषणा गरेका छन् ।

कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा समेत कुल ६५ जनाले मृत्यु पश्चात शरिरका विभिन्न अङ्गदान दिने घोषणा गरेका छन् । मृत्यु पश्चात आफ्नो शरिरका विभिन्न अंगहरु निकालेर प्रत्यारोपण गर्न मिल्ने भएपछि अङ्ग दान दिने घोषणा गरेका हुन् ।

नगरप्रमुख कार्कीले मृत्यु पश्चात आफ्नो शरिरका विभिन्न अङ्ग काम लागेमा दान गर्दा पुन्यको काम हुने बताउनुभयो । आफूले धर्ति छाडेपनि आफ्ना विभिन्न अङ्गले अन्य विमारी मानिसको स्वाथ्य बचाउन सकिन्छ भने अङ्ग दान महत्वपूर्ण योगदान रहेको उनको भनाई छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मृत्यु भएको एकजनाको शरिरबाट हाल नेपालमा २ वटा मृगौला, २ वटा फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज, सानोआन्द्रा गरी कुल ८ वटा अङ्ग दान गर्न मिल्ने जानकारी दिए । उनले १ जनाको मृत शरिरबाट ८ जना सम्मको ज्यान बचाउँन सकिने भएका कारण मृत्यु पश्चात सबैलाई अङ्गदान घोषणा गर्न अनुरोध गरे ।

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा सभापती वासुदेब पौडेलले मृत्यु भए पश्चात अंग दान दिनु सबैका लागि राम्रो, सकारात्मक र धार्मिक कार्य भएकाले यसमा सहभागी हुन समेत अग्रह गरे ।

स्थानीय दुर्गा ढकालले ३० वर्ष अघि देखिको अङ्ग दान गर्ने चाहाना आज पुरा गर्न सफल भएकोमा खुशी व्यक्त गरिन् । उनले स्मरण गर्दै भनिन्, १० वर्ष अघि जर्मन घुम्न जाँदा अचानक श्रीमानको निधन हुँदा जर्मनमै श्रीमानको ज्यानका विभिन्न अङ्ग दान गरेको बताईन् । मृत्युपश्चात अङ्ग दान गर्दा विभिन्न मानिसको जीवन बचाउन सकिने भएकाले यो पुन्यको काम भएको उनको दावी छ ।