Logo

बागमती पेज

चैत्र २४, २०७९ शुक्रबार

१८ सेकेन्ड लामो चुम्बन दृश्य !


काठमाडौँ – नेपाली चलचित्र सेन्सर गर्न निकै झन्झटिलो रहेको गुनासो सुन्नमा आइरहेको विषय हो। कहिले विषयबस्तु र संवादका कारण त कहिले दृष्यका कारण निर्देशक तथा निर्माताले चलचित्र विकास बोर्डमा धाउनुपर्छ। तर यसपाली चलचित्र बहावका निर्देशकलाई यस्तो ठूलो सास्ती व्यहोर्नु परेन।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र बहावको १८ सेकेण्ड लामो चुम्बनको दृष्यलाई लिएर चलचित्र जाँच समितिले निर्माण टिमसँग सोधुपछ गरेको थियो।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको बहावमा चुम्बनको दृष्यलाई गुपचुप राखिएको थियो तर बोर्डका पदाधिकारीले चासो दिएर सोधपछि आफूले फिल्ममा उक्त दृष्यको औचित्य र महत्त्वबारे बताएको निर्देशक प्रमोद कँडेलले बताए।

फिल्म सुरु भएको केही मिनेटमै अभिनेत्री पन्त र पवन श्रेष्ठबीच झण्डै १८ सेकेन्डको चुम्बन दृष्य आउँछ। बुधबार बेलुका प्रिमियरमा यो दृश्य आएपछि दर्शकले हलमा हुटिङ समेत गरेका थिए। यो चुम्बनको दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै लामो भएको हुन सक्ने निर्देशक कँडेलको ठम्याइ छ।

यसअघि सामान्य चुम्बन दृश्यमा पनि अनुदार मानिने सेन्सर बोर्ड बहावको यो रोमान्टिक र बोल्ड दृश्यमा भने उदार देखिएको छ। ‘सेन्सर हुँदा पनि बोर्डका पदाधिकारीले यसबारे अब्जेक्सन गर्नुभएको थियो। तर उक्त दृश्य किन फिल्मको लागि महत्वपूर्ण छ भन्ने बताएपछि उहाँहरु कन्भिन्स हुनुभयो र युनिभर्सल सर्टिफिकेट दिनुभयो,’ निर्देशक कँडेलले भने, ‘सेन्सर बोर्डमा फिल्म बुझ्ने मान्छे पुगेछन् भन्ने लागेर खुसी छु।’

चलचित्र बहावका निर्मता श्रीधर पौडेलकाअनुसार कथाले मागेको दृष्य भएकाले जाँच समितिका सदस्यको चित्त बुझेको हो। पौडेल भन्छन्, ‘बहावमा हामीले पिजी सर्किफिकेट पाइएला भन्ने सोचेका थियौँ तर सम्पूर्ण फिल्म हेरेपछि युनिभर्सल सर्टिफिकेट दिनुभयो। चुम्बनको दृष्यमा सोधपुछ भए पनि निर्देशकले फिल्मको कथाबारे बताएपछि जाँच समितिका सदस्य कन्भिन्स हुनुभयो।’

फिल्मभित्र शीर्ष पात्रहरूको सम्बन्ध स्थापनाका लागि उक्त दृश्यको प्रयोग गरिएको छ। सुरक्षाको फिल्म करिअरमा पहिलो पटक यस्तो बोल्ड सिन दिएकी हुन्। यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन्।