Logo

बागमती पेज

बैशाख १४, २०८० बिहीबार

टनेल गाउँ बन्दै सिन्धुपाल्चोकको स्वाराथोक


सिन्धुपाल्चोक । पिउनलाई खानेपानीकै चरम समस्या झेलिरहेका छन् । फेरि पनि सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२, स्वाराथोकका किसानहरू तरकारी खेती गर्न कम्मर कसेर लागेका छन् ।

परम्परागत खेती मकै कोदो लगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि स्वाराथोकका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

स्थानीय गैरसरकारी संस्था टुकी संघ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामाग्री, बीउविजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण भएको छ ।

सिङ्गै गाउँका किसानले आफ्ना बारीमा टनेल निर्माण गर्न थालेपछि स्वाराथोक गाउँ टनेल गाउँको रुपमा परिचित भएको मात्र छैन सुख्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न पनि यहाँ किसानहरू सफल भएका छन् ।

२३ घरधुरी रहेको यस गाउँमा २३ वटा नै टनेल निर्माण भई प्रारम्भमा गोलभेँडा खेती भइरहेको टुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । किसानहरूको मागको आधारमा नै जापानी संस्था जाईकाको सहयोगमा आफूहरूले किसानहरूसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको उहाँको भनाई छ ।

मकै, कोदो बाली लगाउन छोडेर पहिलोपटक तरकारी खेती गर्दा आम्दानीको बारेमा थाह नभए पनि मकै र कोदोबाट भन्दा पनि राम्रो आम्दानी हुनेमा किसान राजु पुरी विश्वस्त हुनुहुन्छ । घरमा प्रयोग गरिसकेपछि खेर गएका पानीलाई सङ्कलन गर्दै गोलभेँडा खेतीमा लगाउने गरेको उहाँ बताउनु हुन्छ ।

हुन त बस्तीभन्दा अलिमाथि सानो मूल छ । त्यही मूलको पानी घरायसी कामकाजका लागि प्रयोग गर्दै आएका किसानहरू मूलको पानी घरमा प्रयोग गर्न पनि नपुग्ने बताउँछन् । स्थानीय सरकारले ट्याङ्की निर्माण गरिदिए आफूहरूलाई पिउन मात्र हैन, तरकारी खेती गर्न पनि सहज हुने किसान देवकी गिरी बताउनुहुन्छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ मा पर्ने काभ्रे बस्ती पनि सुख्खाग्रस्त क्षेत्र हो । सुख्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसानहरू यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरिय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धारोबाट पन्ध्र मिनेट जति पानी आउँछ । त्यही पानीलाई जोह गर्दै यहाँका किसानहरूले गोलभेँडा खेती गर्दै आएका छन् । सिँचाइको लागि स्थानीय तहले प्रबन्ध मिलाई दिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामा बताउनुहुन्छ ।

अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेँडा लगाएछौँ सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडी बढ्नै छौँ किसान लामाले भन्नु भयो । यो गाउँमा पनि १९घर परिवारले टनेलभित्र तरकारी खेती गर्दै आएका छन् ।

सुख्खाग्रस्त क्षेत्र घोषणा समेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीहरूमा यतिखेर टनेलहरू देख्न सकिन्छ । टनेलभित्र खासगरि गोलभेँडाका हरिया बोटहरू लोभ लाग्दो भएर लहलाउँदा छन् । किरा नियन्त्रणका लागि ठाउँ ठाउँमा इन्सेक ट्रापरको पनि व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पुर्‍याइरहेको छ ।

पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसानहरू खेतीबाट आशावादी भएका त छन् तर जङ्गली जनावरले आफ्ना मेहनत र आशामाथि कुठाराघात गर्ने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसानहरू बताउँछन् । त्यसैले कतैबाट घेराबारको प्रबन्ध गर्न सकिन्छ, त्यो उपायको खोजीमा पनि छन्–यहाँका किसानहरू ।