काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो ।
बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई दीर्घकालीन रूपमा सफा राख्न नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । रुद्रमतीलाई स्वच्छ सफा र हराभरा बनाएर पर्यटकीय क्षेत्र बनाउन नगरले तयारी गरेको समेत उनको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौँ महानगरपालिका–४ को सिमानामा रहेको रुद्रमतीलाई पाथीभरा बस्तीबाट खोला सरसफाइ अभियान सञ्चालन गरिएको छ । बूढानीलकण्ठ–१३ स्थित नौलिनथान मन्दिरसम्म अभियान चलाउने नगरको योजना रहेको प्रवक्ता भट्टराईले बताए ।
रुद्रमती सरसफाइ गर्न यस आर्थिक वर्षमा मात्र सीमित नभएर दीर्घकालीन रूपमा सफा राख्न नगरले अभियान थालेको नगर प्रमुख मिठाराम अधिकारी बताउँछन् । उनले भने, “पहिला कस्तो थियो त्यस्तै अवस्थामा सफा र सुन्दर बनाउन नगरपालिकाले खेल्ने भूमिकामा हामी कडाइका साथ लाग्छौ ।”
नगरपालिकाको पहिचान र सभ्यता संस्कृतिका रूपमा जगेर्ना गर्नुपर्ने सबै नगरवासीको कर्तव्य हो भन्दै बूढानीलकण्ठ–९ की वडाध्यक्ष सुमित्रा त्रिपाठीले यसअघि पनि कोरिडोर हरियाली बनाउन नगरपालिकाले वृक्षरोपण कार्यक्रम गरेको बताईन् । त्यस बेला रोपिएका धेरै बिरुवा हुर्किएका छन् । बिरुवाले सुन्दरता दिएसँगै वातावरणलाई पनि उत्तिकै सफा राखेको उनको भनाइ छ ।
नगरपालिकाले चारजना कर्मचारीलाई बिरुवा गोडमेल, हेरचाह र कटिङका काममा लगाएको छ । विगतमा गमलामा रोपिएका ठूला बिरुवा उखेलेर अन्य सार्वजनिकस्थलमा रोपिने नगरपालिकाले जनाएको छ । स्थानीयवासीलाई जनचेतनामूलक अभियान गरेर खोला सफा राख्ने तयारी गरिएको प्रवक्ता भट्टराईले जनाए ।
फोहर व्यवस्थापन गर्न खोला छेउका विभिन्न स्थानमा नगरपालिकाले डस्टबिनको व्यवस्था गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्