Logo

बागमती पेज

बैशाख ३१, २०८० आईतबार

गाउँपालिकाका अध्यक्षले खेताला परीक्षार्थी राखेको पुष्टि, सबै परीक्षा रद्द


सिन्धुली । कक्षा १२ को परीक्षाका परीक्षार्थी रहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर परीक्षा दिएको पुष्टि भएको छ ।

परीक्षार्थी मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई कपी फेला परेपछि उनले यसअघि दिएका सबै परीक्षा रद्द भएका हुन् ।

माध्यामिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकार सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष समेत रहेका परीक्षार्थी मोक्तानले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा परीक्षा दिलाएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको दिन थियो । सो परीक्षाका दुई वटा उत्तर पुस्तिका फेला परेको र सो उत्तर पुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानको उत्तर पुस्तिका पूर्ण रुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्राधयक्षले परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्वन्धित कुनै पनि काम गर्न नदिने निर्णय गरेको छ ।

सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराललाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ । पालिका अध्यक्ष समेत रहेका मोक्तानले थप परीक्षा समेत दिन नपाउने सिडियो नेपालले बताइन् ।