Logo

बागमती पेज

जेष्ठ १०, २०८० बुधबार

ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।

गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।

३ पुसमा ग्यास चुहिएर भएको आगलागीमा परेर सांसद भण्डारीकी आमाको मृत्यु भएको थियो भने उनको भारतमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी पूर्ण रुपमा निको भइसकेका छैनन् ।

हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिए । जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्दार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए ।

कांग्रेस सांसद भण्डारीले जलनको उपचार गर्ने कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा भवन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

जलनमा पर्ने अधिकांश विपन्न नागरिक हुने भएकाले क्यान्सर, मिर्गौलारोगी सरह जलनका बिरामीलाई पनि उपचारमा सहयोग गर्नुपर्ने सांसद भण्डारीले बताए । साथै स्वाचालित ग्यास रेगुलेटरहरु अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था गर्नसमेत उनले सरकारलाई आग्रह गरेका छन् ।