Logo

बागमती पेज

जेष्ठ २५, २०८० बिहीबार

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्छ: गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने बताएका छन् । भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको बहसले माहौल तताइरहेका बेला थापाले उक्त सम्भावना देखाएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा अधिकार रहेको बताए । उनले भने, ‘नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, लान दिइँदैन ।’

यसका निम्ति अरु कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो ।

अखण्ड भारतको नक्साबारे गगनले भने, ‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ । नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’

उनले संघ र प्रदेश सरकारमा अहिलेको दलीय गठबन्धनलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

कोशी प्रदेश सरकार सञ्चालनका लागि कांग्रेस सम्मिलित सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न सक्नुपर्नेमा जोड दिए । प्रदेशमा कांग्रेस सम्मिलित बन्ने सरकारको कामले प्रदेशबासीका समस्या र निरासा चिर्न सक्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले भने, ‘अहिले जनतामा देखिएको निरासा चिर्नका लागि सरकारले काम गर्नुपर्नेछ । त्यो कामले जनतामा देखिएको निराशा बोलेर होइन कामले पूरा गर्न सक्नुपर्छ ।’

अहिलेको गठबन्धनलाई बदल्ने वा अन्य विकल्पबारे सोच्नुपर्ने अवस्था कांग्रेसमा नरहेको बताएका महामन्त्री थापाले गठबन्धनलाई पूर्णरूपमा यसैको सरकारलाई संघ र प्रदेश सबैतर्फ सही ढंगबाट सञ्चालन गर्न प्रतिवद्ध रहेको बताए ।