Logo

बागमती पेज

जेष्ठ २६, २०८० शुक्रबार

दोलखा मेलुङमा कार्य सञ्चालनको लागि ‘प्रिफ्याव’ भवन बन्दै


काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाले कार्य सञ्चालनको लागि प्रिफ्याव भवन निर्माण गर्न लागेको छ । मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षबाट आफ्नै भवनबाट सेवा दिनेगरी प्रिफ्याव भवन निर्माण कार्य अघि बढाएको हो ।

पालिकाले पक्की प्रशासनिक भवन निर्माणको लागि भन्दै एक करोड बजेट विनियोजन गरेको थियो । तर, पक्की भवन वहुवर्षीय योजना अन्तर्गत निर्माण हुने भएपछि तत्कालको लागि प्रिफ्याव भवन निर्माण गर्न लागेको पालिकाले जनाएको छ । पक्की भवन निर्माणको लागि अझै २ वर्ष भन्दा बढी समय लाग्ने छ ।

पालिका अध्यक्ष हिरा थोकरले यो वर्ष विनियोजन भएको ८० लाख बजेटबाट २० लाखमा जग्गा सम्याएर भवन निर्माणको लागि चौर बनाएपछि त्यसैमा ६० लाख बजेटबाट प्रिफ्याव भवन निर्माण गर्ने बताए । उनका अनुसार हाल जग्गा सम्याएर भवन निर्माणको लागि आवश्यक तयारी भइरहेको छ ।

पालिकाले मुडे–मेलुङ सडक अन्तर्गत पर्ने पोखरी क्षेत्रमा स्थायी केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन गरेको छ । मेलुङ गाउँपालिकाको भवन निर्माणका लागि करिब ४० रोपनी जग्गा प्राप्ति भएको छ । मेलुङ गाउँपालिकाले सरकारले तोकेको स्थायी केन्द्रको एक किलोमिटर दुरीको आसपासमा जग्गा व्यवस्थापन गरेको छ ।