Logo

बागमती पेज

असार १, २०८० शुक्रबार

काठमाडौँको हल हलमा लाग्यो ‘आदिपुरुष’ बालेनको चेतावनी उलंघन


कााठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उलंघन भएको छ ।

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । उनका अनुसार बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएको थिएन ।

तर संघमा छलफलका साथै हलवालाहरुले पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ । कायस्थले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए ।

मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए । उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । त्यसका लागि ३ दिनको समय दिइएको उनको भनाइ थियो ।

आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् ।