काठमाडौं । देशभरिका स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
नेपाल नगरपालिका संघका अनुसार बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वान गरेको हो ।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आजको मन्त्रिपरिषद् बैठकले ४० प्रतिशत वित्तीय समानीकरण अनुदान दिने निर्णय गरेको सुने पनि सार्वजनिक नभएकाले आन्दोलन गर्न लागिएको बताइन् ।
अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयता बचाउनको लागि भन्दै दुबै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।
पालिका संघहरुले मन्त्रिपरिषदले तुरुन्तै निर्णय नगरे भोलि विहान पत्रकार सम्मेलन गरेर औपचारिक विरोधको कार्यक्रम सार्वजनिक गरेर घेराउ सुरु गर्ने तयारी गरेको नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।
८ असारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान कटौती नगर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौतीपछि स्थानीय तहरु मारमा परेको भन्दै वित्त आयोगले अर्थ मन्त्रालयलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको थियो ।
त्यसअघि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आयोगका अध्यक्ष बालानन्द पौडेलसँग भेटेर पहल गर्न ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्