काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् ।
आमाको बुधबार बिहान निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगा पनि उस्तै भावविह्वल बनिन् ।
आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु आँखामा बलिन्द्र आँशु बनाउँदै ‘आमा।।।’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका प्रचण्डले छोरीहरुलाई सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफूपनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो।।।म छु तिमीहरुको साथमा।।।’ भन्दै सम्हाल्ने प्रयास गरेका थिए ।
प्रचण्डको भावुकताका बीच छोरीलाई सम्हाल्दै गर्दाको दृश्य निकै भावुक रहेको थियो ।
हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ ।
सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै विभिन्न दलका नेताहरुले पनि दाहालको निधनमा दुःख व्यक्त गरेका छन् भने आजका विभिन्न औपचारिक र अनौपचारिक समेत स्थगित भएका छन् । दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्