Logo

बागमती पेज

श्रावण ७, २०८० आईतबार

५० लाखसम्मका योजना स्थानीय तहमा पठाइने


हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले रु ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताउनुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–५ का भूमिहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश सरकारले जिल्लाका निश्चित आयोजना र प्रदेश गौरवको आयोजना मात्रै हेर्ने तथा रु ५० लाखभन्दा कम लागतका योजना स्थानीय तहमा पठाइने स्पष्ट पार्नुभयो ।

उहाँले स्थानीय सरकारले पनि शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रको विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले लालपूर्जा वितरण राम्रो काम भएकाले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीयता स्थापना भएपछि निकै महत्वपूर्ण काम भएको दाबी गर्नुभयो । भ्रष्टाचार रोक्न तथा सुशासन कायम गर्न वर्तमान सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

सो अवसरमा मकवानपुरको बकैया गाउँपालिका–५ का ११ दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको थियो ।

उक्त जग्गा १० वर्षसम्म बिक्री गर्न नपाइने तर ऋण लिनका लागि धितो भने राख्न भने पाइने जनाइएको छ । बकैया गाउँपालिका वडा नं. १, ४, ६, ७ र ११ मा जग्गाको नाप जाँच भइरहेको पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । बकैयामा करिब एक सय ५० परिवार दलित र सुकुम्वासीसँग जमिन छैन ।

राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले हेटौँडा, बागमती, बकैया र मनहरिमा भूमिसम्बन्धी समस्या रहेको बताउँदै तीन/चार महिनाभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।