Logo

बागमती पेज

श्रावण ८, २०८० सोमबार

अन्ततः उड्यो ट्वीटरको चरो, नाम र लोगो फेरेर राखियो ‘एक्स’


काठमाडौं । ट्वीटरले आधिकारिक रूपमा चराको लोगोलाई बिदा गरेको छ । सोमबार नेपाली समय अनुसार दिउँसो करिब ३ बजेदेखि विश्वभर ट्वीटरको नयाँ लोगो लाइभ गरिएको हो । यससँगै डेस्कटपमा ट्वीटरको नयाँ लोगो देखिन थालिसकेको छ ।

विशेषगरी होमपेज, ट्वीटरको आधिकारिक ट्वीटर ह्यान्डल लगायत अन्य विभिन्न ठाउँबाट चराको लोगो हटाइएको हो । एन्ड्रोइड तथा आईओएस एपमा भने नयाँ अपडेटसँगै नयाँ लोगो देखिने बताइएको छ ।

ट्वीटरका मालिक एलन मस्कले आइतबार ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए । त्यससँगै सोमबार ट्वीटरको चराको लोगो सधैंका लागि विस्थापित भएको हो । ट्वीटरलाई एक्समा रिब्रान्डिङ गर्दै मस्कले सो प्लेटफर्मलाई ‘द एभ्रिथिङ एप’को नाम दिएका छन् ।

यससँगै ट्वीटरमा अब ट्वीट हेर्ने पढ्ने मात्र नभई अडियो सुन्न, लामा भिडिओ हेर्न, भुक्तानी गर्न, सामान तथा केवाहरू खरिद बिक्री गर्न सकिनेछ । मस्कले अक्टोबर २०२२ मा ट्वीटर खरिद गरिसकेपछि यस प्लेटफर्ममा थुप्रै परिवर्तन ल्याएका छन् ।