Logo

बागमती पेज

श्रावण १४, २०८० आईतबार

दुई कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने बागमती प्रदेश सरकारको निर्णय


हेटौंडा । बागमती प्रदेश सरकारले २ जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वास्थ सेवा तर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । ऐन अनुसार सो तह प्रदेश सचिव सरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यस अघि नै ऐन अनुसार दुई जनालाई ११ औं तहमा बढुवा गरि पद्स्थापन गरिसकेको छ ।

यो निर्णयसँगै प्रदेश सरकारमा ४ जना सचिव नियुक्त भएका छन् । बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई पारित गरेको छ ।