Logo

बागमती पेज

श्रावण २१, २०८० आईतबार

माओवादीका नेताहरूलाई नयाँ जिम्मेवारी


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज बनाएको छ । गैर भौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो ।

यस्तै उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इन्चार्ज र सचिव देवेन्द्र पौडेल गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इन्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्ज, मातृका यादवलाई कर्णाली प्रदेश इन्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इन्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इन्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिनानाथ शर्माले पाउनुभएको छ ।

यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इन्चार्ज पनि परिवर्तन गरिएको छ । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरूको समेत जिम्मेवारी तोकिएको बताइएको छ । रासस