Logo


दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं ५ मा जन्मिएका सामतेन शेर्पा अहिले सम्झनामा मात्र सीमित छन् । कर्मप्रति विश्वास गर्ने, निष्ठावान्, समाजसेवाको भावना भएका र निकै दयालु थिए शेर्पा । उनको बारेमा भन्नुपर्दा जति प्रशंसा गरे पनि कम हुँदैन भन्नुहुन्छ उहाँको भाइ निम्तो शेर्पा ।

यस्तो छ, सामतेनको जीवन कहानी

दोलखा जिल्लाको चिलंखा गाविस ३ हाल बिगु गाउँपालिका ५ रहेको छ । बुवा दोर्जे शेर्पा लामा र आमा सोनाकुटी शेर्पाको तिन भाइ मध्ये जेठो छोरा हुन सामतेन शेर्पा । सामतेनका बुवा गाउँको गाउँको प्रमुख लामा हुनहुन्थ्यो । गाउँको प्रमुख लामा भएको नाताले बुवा दोर्जे शेर्पाले समतेनलाई गुम्बामा चढाउनुभयो । सामतेनका भाइ निम्तो शेर्पाका अनुसार गाउँकै विगु गुम्बामा १२ वर्षको उमेरमा सामतेन भिक्षु भएका थिए ।

लामो समय विगु गुम्बामा भिक्षु रहेका सामतेन पछि सिन्धुपाल्चोकको हेलम्बु ब्रान्चमा सरुवा भएका थिए । हेलम्बु गुम्बामा रहने क्रममा भिक्षु सामतेनको त्याँहाकै एक जना शेर्पिनीसँग प्रेम भएछ । गहिरो प्रेममा परेका सामतेनले भिक्षु छोडेर घरबार जोड्ने निर्णय गरे । र पछि भिक्षु नै छोडिदिए । यता भिक्षु छोडेको थाहा पाएपछि सामतेनका बुवा आमा निकै रिसाउनुभएको थियो । सामतेनको इच्छा भने विवाह गर्ने थियो ।

लामा परम्परा अनुसार एक पटक भिक्षुमा लागेपछि विवाह नगरी जीवनभर तपस्या गरेर बस्नुपर्ने नियम छ । तर सामतेनले यो परम्परालाई तोड्दै विवाह गर्ने योजना बनाए र विवाह गरे । विवाह नगर भनेर सम्झाउन गएका भाइ निम्तोलाई समेत सामतेनले आफूसँगै राखेर पढाउने निर्णय गरे । विवाह पछि यता बुवा दोर्जे र सामतेनको सम्बन्धमा भने गहिरो चोट पुग्यो ।

विवाह पछि सामतेन

विवाह पछि सामतेन श्रीमती रिन्जेनछोमु शेर्पासँग स्वम्भुमा रहन थाले । स्वम्भुमा कोठा भाडामा लिएर बसेका सामतेनले हस्ताकला सम्बन्धी एक्सपोर्टको काम गर्न थाले । गाउँमा उत्पादन भएका हस्ताकलाका सामान विदेशमा व्यापार गर्न थाले । सामान ओसार पसार गर्ने क्रम राम्रो हुँदै गएपछि बिगुमा उनले आफ्नै नेपाली कागज सुरु गरे । र नेपाली कागज एक्सपोर्ट गर्न थाले ।

नेपालको सामान विदेशमा धेरै माग हुने गर्दथ्यो । पैसा पनि राम्रो थियो । तर जसलाई उनले सामान पठाउँथे उ बाट पारिश्रमिक लिन निकै पर्खिनु पर्थ्यो । यो क्रममा सामतेनले धेरै पारिश्रमिक गुमाएको भाइ निम्तो शेर्पा बताउँछन् । विदेशमा सामान बिक्री गर्ने क्रममा धेरै दुख पाएका सामतेनले काठमाडौँको धुम्बाराहीमा आफ्नै कम्पनी खोलेर काम सुरु गरे । उनको कम्पनी टिबटियन ह्यान्डीका्रफ्ट पेपर नामक कम्पनीबाट नेपाली कागज जर्मन एक्सपोर्ट गर्न थाले । धुम्वारहीमा १२ वर्ष कम्पनी चल्यो । निमा शेर्पा र भाइ निम्तो शेर्पा भएर कम्पनी अघि बढाएका थिए ।

निमा, निम्तो र सामतेन तिनै जनाको पढाई कम थियो । पढाइ कम भएको कारण कम्पनी चलाउन समस्या बनाएको थियो । कम्पनीका विभिन्न काम गर्न अरूको सहारा लिनुपर्ने बाध्यता थियो । आफ्नो कम्पनी हुँदाहुँदै अरूलाई काम लगाउन तिनै जनालाई सकस भयो र बिजनेस चलाउन समस्या भयो । कम्पनी सञ्चालन गर्न यती धेरै हैरानी खेपेपछि सामतेनले शिक्षाको अभाव महसुस गरे । शिक्षित भएको भए कम्पनी चलाउन अरूको सहायता पर्दैनथ्यो भन्ने कुराले उनलाई आत्मग्लानि बनायो ।

पढाइ भए मात्र जे काम गर्नका लागि पनि सहज हुने कुरा उनले महसुस गरे । एउटै कुरामा धेरै गहिरिएर सोच्ने सामतेनले स्कुल खोल्ने योजना बनाए । भविष्यमा अरू बच्चाहरूले कुनै पनि व्यापार बिजनेस वा अन्य काम गर्न पढाइका कारण पछि नपरून् भन्ने सोचले उनले विद्यालय खोल्ने निर्णय गरे । विद्यालयको बारेमा निमा, निम्तोलाई पनि सल्लाह गरे । अन्ततः विद्यालय खुल्ने नै भयो ।

कसरी रहन गयो विद्यालयको नाम सामतेन

सामतेनले कपन बङ्गलामुखीसँगै १० रोपनी जग्गा किनेर नेपाली कागज कारखाना सारे । कम्पनी भने धुम्बाराहीमै थियो । विद्यालय खोल्ने योजना बनाएका सामतेनले सुरुवाती चरणमा कारखाना काम गर्ने कामदारका बच्चाहरू निःशुल्क पढाउने निधो गरे र १० जना बच्चाहरूलाई निःशुल्क पढाए ।

सामतेनको स्कुलप्रतिको मोह अझ बढ्दै गयो र जसरी पनि विद्यालय खोल्ने निधो गरे । धुम्बाराहीको कम्पनी र कारखाना सँगै राख्ने योजनाले सामतेन कम्पनी भवन बनाऊ तर्फ लागे ।

सबैको सहयोगमा कम्पनी भवन निर्माण हुने तयारीमा थियो । उद्योगको काममा आफै खटेका सामतेन जस्ताको काँटी ठोक्न टहरामाथि चढेका थिए । अकस्मात् उनको एक खुट्टा किला नठोकेको जस्तामा परेछ र उनी भुईँमा बजारिन पुगे । दैवको लीला भनौँ वा भावीको लेखान्त उनको उद्योग स्थलमै ज्यान गयो ।

विद्यालय खोल्ने ठुलो सपना देखेका सामतेन अकस्मत दुर्घटनाले ज्यान गुमाउन पुगे । तर उनी नरहे पनि उनको सपना भने पुरा भएको छ । उनका दुई सहयात्री निमा शेर्पा र निम्तो शेर्पाले सामतेनको सपना कदर गर्दे विद्यालय स्थापना गरेका छन् । जुन स्कुल सामतेनको नामले परिचित छ ।

हाल विद्यालय

विद्यालयको नाम ब्राइड फ्यूचर राखिने भएको थियो । तर यो नाम विद्यालयका लागि जुरेन । तीन जनाको सल्लाहमा ब्राइड फ्यूचर राख्ने निधो गरिएको थियो । त्यसै क्रममा सामतेनको निधन भएका कारण उनकै सम्झनामा विद्यालयको नाम सामतेननै राखिएको भाइ निम्तो शेर्पा बताउँछन् ।

हाल सामतेन मेमोरियलमा ६०० भन्दा बढी विद्यार्थीहरू पढ्दै आएका छन् । १० सम्म पढाई भइरहेको स्कुल ०८० बाट प्लस टु सम्म पढाई हुन थालेको छ । विद्यालयमा सामतेनका नाममा विभिन्न कार्यक्रम पनि हुने गर्दछन् । सामतेनको सपना सकार भएको सङ्केत विद्यालयमा फर्रफराईरहेका झन्डाले दिइरहेको छ ।