Logo

बागमती पेज

भाद्र ११, २०८० सोमबार

बौद्धमा कुवा संरक्षण: एकैदिन तीनवटाको उद्घाटन


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भएसँगै उद्घाटन गरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा संरक्षण तथा पुनःनिर्माण गरिएको उक्त तीन वटा कुवाको एक कार्यक्रमका बीच प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन्।

बढ्दो शहरीकरण तथा भू–माफियाको कारण प्राचिन कुवा,धारा, पँधेरा,पाटी पौवा मासिदै गएको अवस्थामा वातावण तथा सांस्कृति जोगाउने उदेश्य सहित श्री बौद्ध नाथ क्षेत्र विकास समितिले क्षेत्र भित्र रहेका ऐतिहासिक कुवा, धारा लगायत प्राचिन सांस्कृतिक धार्मिक र पुरातात्विक महत्व बोकेका सम्पदालाइ पुननिर्माण तथा संरक्षण गर्ने अभियाननै थालेको छ।

तीन वटा कुवा करिब १६ लाख रुपैयाको लागतमा पुनःनिर्माण गरिएको हो । अध्यक्ष लामाले श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण गर्नुको साथै सो क्षेत्रमा पर्ने धार्मिक संस्कृतिक सम्पदा संरक्षण र क्षेत्रको विकास निर्माणमा समेत सहयोगी भूमिका खेल्दै आईरहेको बताए ।

नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको अध्यक्ष लामाको भनाई छ । उनले केही वर्ष अघिसम्म बाटोको छेउछाउमा प्रशस्त धारा र कुवाँ हुने भएपनि संरक्षणको अभाव, बढ्दो शहरीकरण र भू माफियाको कारण त्यस्ता सम्पदा मासिएकोको चिन्ता ब्यक्त गर्दै भएका सम्पदा संरक्षणमा क्षेत्र विकास समितिले पहल कदमी गर्दै आएको दावी गरे ।

क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले सम्पदाहरू मावन समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले पुर्खाले छोडेर गएका सम्पदारूपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिईन् ।