Logo

बागमती पेज

भाद्र २६, २०८० मंगलबार

श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस् : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा भएको दुई दिने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले झेल्नु परेको समस्याबारे ध्यानाकर्षण गराउँदै श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिनुभयो ।

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो ।

छलफलमा राजदूतहरूको कामको प्रतिवेदन राख्नुका साथै आगामी कार्य योजनासमेत निर्माण गरिएको छ ।

अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै आर्थिक कूटनीतिलाई ध्यानमा राखी बाह्य लगानी अभिवृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत राजदूतहरूले भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्याप्त लाभ लिन नसकिएको भन्दै विदेशी पर्यटकको आगमन वृद्धिका लागि राजदूतहरूको सक्रियता आवश्यक पर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले मुलुकको भुक्तानी सन्तुलनमा सहयोग गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुर्याएको धारणा राख्नुभयो।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलमा विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याको समाधानका लागि श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पनि श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।