Logo

बागमती पेज

भाद्र ३१, २०८० आईतबार

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ: महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिनुभएको छ ।

शिखा प्रकाशनबाट प्रकाशित विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्का समेत व्यक्त गर्नुभयो ।

“विपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्‍यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भन्नुभयो, “बिपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टी शक्ति छ, प्रधानमन्त्रीसँग राज्य शक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ”

उहाँले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्न समेत आग्रह गर्नुभयो । उहाँले बिपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताउनुभयो ।

थापाले बिपीले अध्ययन गर्नुभएका वा उहाँले सिफारिस गर्नुभएका पुस्तक समेत सङ्कलन गर्नुपर्ने बताउनुभयो । यस्तै बिपीले पढ्नुभएका साहित्यमा उहाँ स्वयंले गर्नुभएको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।

लोकार्पण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै बिपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।”

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठन शैली कमजोर भइरहेको भन्दै बिपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले बिपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू बिपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा बिपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रसङ्ग समेट्नुभएको बताउनुभयो ।