Logo

बागमती पेज

आश्विन १०, २०८० बुधबार

सूचनाको हकका लागि राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने


काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन गर्ने भएको छ ।

काठमाडौँमा आज पत्रकार सम्मेलन गरी यही असोज ११ र १२ गते काठमाडौँमा सम्मेलन आयोजना गर्न सम्पुर्ण तयारी पुरा भएको महासङ्घले जनाएको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको र सम्मेलनमा ७७ वटै जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो दिन भोली चारवटा विभिन्न विषयमा समूहगत छलफल गरिने छ । सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका, अल्पसङ्ख्यक, युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती तथा सार्वजनिक निकायमा सूचनाको स्वतः प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती गरी तीन विषयमा समूह छलफल गरिने पनि महासङ्घका अध्यक्ष बागचन्दले जानकारी दिनुभयो ।

छलफलमा सूचनाको हकका अभियानकर्मी, तथा सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने महासङ्घले जनाएको छ । त्यस्तै सम्मेलनको दोस्रो दिन महासङ्घले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष बागचन्दले सीमित व्यक्तिहरूले मात्रै सूचनाको हक माग्ने र पाउने कुराले यो पूर्ण नहुने भन्दै जब तल्लो तहका नागरिकले सूचनाको हकको उपयोग गर्न सक्छन् तबमात्र जनताको जीवनमा परिवर्तन आउने बताउनुभयो ।

महासङ्घका महासचिव अजय कुमार शाहले सूचनाको हकका विषयमा चर्चा बढी भएपनि कार्यान्वयनमा चासो नदिइएको भन्दै यसको प्रभावकारी कार्यान्वयनतर्फ अगाडी बढाउन सम्मेलन फलदायी हुने अपेक्षा गरिएको बताउनुभयो ।