Logo

बागमती पेज

आश्विन १८, २०८० बिहीबार

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट


काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।

केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए ।

उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालिन् ।

प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार शव परीक्षणका क्रममा ती किशोरीको मृत्यु झुण्डिएर नभई घाँटी थिचेका कारण भएको खुलासा भएसँगै प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले अघि बढाएको थियो ।

उत्तर प्रदेश प्रहरीका एसएसपी डा. गौरव ग्रोवरका अनुसार मृतक किशोरीको पिता मुम्बईमा बस्दै आएका थिए । छोरीको हत्या भएपछि उनी घर फर्किएका छन् । मृतकको पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या आरोपित सुनिलले ती किशोरी र उनकी आमासँग समानान्तर रुपमा प्रेम सम्बन्ध राख्दै आएका थिए । किशोरीको हत्या भएको दिन आमा भने चिनजानकै एक जनाको मृत्युपछि परिवारलाई सान्त्वना दिन गएकी थिइन् ।

सोही मौका पारेर किशोरीलाई भेट्न आएका सुनिलले बिहेको दबाब झेल्न नसकेर किशोरीको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यामा सुनिलले आफ्ना एक साथीको सहयोगसमेत लिएको खुलासा भएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । एजेन्सी