Logo

बागमती पेज

मंसिर १८, २०८० सोमबार

सबैभन्दा धेरै कर तिर्ने ह्याम्स हस्पिटल सम्मानित


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १० औँ नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो ।

नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी छन् ।

‘आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले १० औँ नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप हस्पिटललाई सम्मान पत्र प्रदान गरिएको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ की वडाध्यक्ष सुमित्रा त्रिपाठीले बागमती पेजलाई जनाएकी छन् ।

नगरपालिकाले गरेको यस सम्मानले थप ऊर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।