Logo

मेघनाथ पहाडी

मंसिर २८, २०८० बिहीबार

बूनपा-९ का सडक निर्माणमा तिब्रता


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ ले सडक निर्माणका काममा तिब्रता दिएको छ । सुकेधारा नयाँ कोलोनी सुपरविल्डर्स अपार्टमेन्टदेखि निलोपुल पेट्रोल पम्प सम्मको अलपत्र सडक फराकिलो बनाउने र ढल हाल्ने कामसँगै सडक कालोपत्रे गरिएको छ । लामो समयको विवादपछि यो सडक निर्माण सम्पन्न भएको हो ।

करिव ५०० मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष सुमित्रा त्रिपाठीले बागमती पेजलाई जानकारी दिएकी छन् । यहाँमात्र नभएर वडाका अन्य स्थानमा पनि सडक निर्माणको काममा तिब्रता दिएको उनको भनाई छ । उक्त सडक आव ०७७ सालमा ठेक्कामा लागेको थियो । ह्युम पाईप झारेर पनि स्थानीयको विरोध पछि पाईप फिर्ता गरिएको थियो ।

काठमाडौँ महानगर वडा नम्बर ४ को दाहाल वस्ती र अपार्टमेन्टको ढलका कारण विगतमा टोल डुवान हुने गरेको वडा सदस्य श्याम कार्कीले बताए । हाल स्थानीयहरुको विवाद टुंगियसँगै सडक निर्माणको कामले तिब्रता पाएको हो ।

सुकेधारा नयाँ कोलोनी सुपरविल्र्डस् अपार्टमेन्टदेखि निलोपुल पेट्रोल पम्पसम्म १४ फिट चौडाई र करिव ५०० मिटरको सडक निर्माण सम्पन्न गरिएको वडा सचिव कुमार निरौंलाले जानकारी दिए । त्यसैगरी बरफेदी एकता वस्तिसम्म वरपरको सडक स्तरोउन्नती, ढल हाल्ने तथा कालोपत्रेको काम धमाधम भएको छ । यहाँको करिव ३५० मिटरको सडक कालोपत्रे गरिएको हो ।

आव ०८०/०८१ मा विकास निर्माणका काम सम्पन्न गर्ने योजना रहेको छ । त्यसैगरी आव ०८१/०८२ मा सामाजिक तथा आर्थिक विकासमा वडा केन्द्रीत हुने वडाध्यक्ष त्रिपाठीको भनाई छ ।