Logo

मेघनाथ पहाडी

फाल्गुन १८, २०८० शुक्रबार

चन्द्रागिरिका उद्यमीले बिना धितो कर्जा पाउने, जिम्मेवारी नगरपालिकाले लिने


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रबर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई विना धितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ। सो वापत वित्तीय संस्थाहरुले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोरिदिने भएको छ ।

फागुन १७ गते चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

यसबाट चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने कुरा नगर प्रमुखज्युले बताउनु भयो। हाल नगरपालिकाले आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला ९शहरी हाट बजार० तथा स्थानीय उत्पादन विक्री केन्द्र संचालन गर्दै आएको छ।

नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष व्याज अनुदान कार्यविधि २०७९ नै जारी गरेको छ। कार्यविधि अनुसार प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैँक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शुन्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ।

समझदारीमा बैंकले कार्यविधि अनुसार प्रवाह गर्ने कर्जालाई लघुवित्त तथा लघुकर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक खडा गरी वा सोही शीर्षकमा आवद्ध गरी कोषले बैंकसंग नियमावली अनुसार सम्झौता गर्ने, कोषसंग लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रममा यस अगाडि आवद्ध बैँकले कार्यविधि अनुसार प्रवाहित कर्जाको सुरक्षणका लागि कोष सँग पुन सम्झौता गर्नुपर्ने छैन तर कार्यविधि अनुसार कर्जा प्रवाह गर्ने बैकले यसअगाडि कोषसँग यस्तो सम्झौता नगरेको भए कोषसँग सम्झौता गरेपश्चात सम्झौता अनुसार कोषले सुरक्षण गर्ने समझदारीमा उल्लेख छ।

सो अवसरमा नगरप्रमुखज्युले उद्यमशीलताको विकास गर्दै आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय बढाउन नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएकोमा स्थानीय स्तरमै रोजगारी सिर्जना एवं व्यवसाय प्रवर्द्धन गर्न नगरपालिकाको साथ र सहयोग रहने जानकारी दिए ।