Logo

बागमती पेज

चैत्र १, २०८० बिहीबार

रामेछाप–काठमाडौँ पत्रकार समाजले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ आयोजना गर्दै


काठमाडौँ । रामेछाप–काठमाडौँ पत्रकार समाजले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी गराएको छ ।

रामेछापबाट काठमाडौँ उपत्यकामा आएर विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लावासीहरूलाई लक्षित गरी चैत १० र ११ गते प्रतियोगिता गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार कपन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लावासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका लागि टिम दर्ता हुनेक्रम सुरु भइसकेको रामेछाप काठमाडौँ पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए । ‘हामीले टिम दर्ता सुरु गरिसकेका छौँ । यो प्रतियोगिता मात्र नभई रामेछापवासीबिच आपसी सद्भाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौँ । यसपटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौँ ।’ उनले भने,‘चैत ९ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ । टिम दर्ता गराउँदा खेलाडीको नागरिकता र नागरिकताको फोटोकपी अनिवार्य आयोजकलाई उपलब्ध गराउनुपर्ने महासचिव पौडेलले जानकारी दिए ।


रामेछाप–काठमाडौँ पत्रकार समाज रामेछापबाट काठमाडौँ उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरूको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता रहेको छ ।