Logo

बागमती पेज

चैत्र ९, २०८० शुक्रबार

‘कलेज अफ दि इयर’ अवार्डबाट सेन्ट लरेन्स सम्मानित


काठमाडौँ । ‘कलेज अफ दि इयर’ अवार्डबाट चाबहिल स्थित रहेको सेन्ट लरेन्स कलेज सम्मानित भएको छ। शिक्षालय राष्ट्रिय मासिकले मङ्गलवार नेपाल पर्यटन बोर्डको हलमा आयोजना गरेको १८ औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा कलेजले उक्त विधा तर्फको अवार्ड हात पारेको हो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कलेजका अध्यक्ष केशव प्रसाद दंगाललाई उक्त अवार्डबाट सम्मानित गरेका हुन्। आयोजकले विभिन्न मापदण्ड बनाएर अवार्ड प्राप्त गर्ने संस्थाहरूको छनोट गरेको थियो।

सेन्ट लरेन्स कलेजले प्राप्त गरेको ‘कलेज अफ दि इयर’ अवार्ड प्रदान गर्नका लागि केही मापदण्डहरू तयार गरिएको र सोही मापदण्डमा सबैभन्दा धेरै अंक प्राप्त गरेको आधारमा कलेजलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिक्षालय मासिकका प्रकाशक तथा प्रधानसम्पादक श्याम तण्डुकारले बताए।

उनका अनुसार यो विधामा छनोटमा परेका शैक्षिक संस्थाहरूलाई विद्यार्थी सङ्ख्या, कलेजको ३ वर्षको नतिजा, अध्ययन पछि विद्यार्थीहरूको बजारमा प्लेसमेन्टको अवस्था, कलेजको ख्याति, सञ्चालकहरूको शैक्षिक पृष्ठभूमि आदिलाई मूल्याङ्कनको आधार बनाइएको थियो।

स्रोत व्यक्तिहरूले आफूले प्राप्त गरेको नामावलीलाई निर्णायक मण्डल समक्ष पठाएको थियो। शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र शिक्षा अभियन्ता बिके श्रेष्ठ सदस्य रहेको निर्णायक मण्डलले प्राप्त सिफारिसहरू मध्यबाट सर्वोत्कृष्ट आवेदन छनोट गरी अवार्ड प्राप्त गर्ने संस्थाहरू छनोट गरेको आयोजकले बताएको छ।

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विगत २७ वर्ष अघि देखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि खेलेको भूमिका बापत पाएको सम्मानले आगामी दिनमा अझै राम्रो गर्नका लागि प्रोत्साहन गरेको बताए।