Logo

बागमती पेज

चैत्र ३०, २०८० शुक्रबार

२०८० कला क्षेत्रमा चर्चा सँगै विवादको वर्षा


काठमाडौँ । वर्ष २०८० नेपाली कला र फिल्म क्षेत्रका लागि विवादले भरिएको वर्ष बन्न पुग्यो । यस वर्ष फिल्मकर्मीले सेन्सर बोर्डसँग समेत लडाईं गर्नुर्पयो । निर्देशक नवल खड्काद्वारा निर्मित, अभिनीत तथा निर्देशित फिल्म काँडेतारलाई सेन्सर बोर्डले शुरूमा सेन्सर सर्टिफिकेट दिन मानेन । करिब एक महिनापछि जेठको पहिलो सातामात्र सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दियो ।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित फिल्मका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाइ थप छलफल गर्नुपर्छ भनी सेन्सर सर्टिफिकेट रोकेको थियो ।

खड्काले भने कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न जिद्धी गरे। तर, सेन्सर बोर्डले केही दृश्य र सम्वाद हटाएर सर्टिफिकेट दिएको थियो। नवलले फिल्म हेर्न यथेष्ट दर्शक हलमा नआएपछि हलले शो नदिएको आरोप लगाउँदै केही दिनमै काँडेतार हलबाट निकालेका थिए।

संगीत क्षेत्रमा चर्चा विवाद सँगसँगै

यो वर्ष कला र संगीतको क्षेत्रमा चर्चासँगै विवाद चुलिएको चुलियै भयो। विभिन्न कार्यक्रमका लागि प्रस्तुति दिन विदेश पुग्ने क्रममा कतिपय कलाकार उतै लुक्ने र कतिपय कलाकारले मान्छे उतै छोड्न थालेपछि अस्ट्रेलियाले नेपालीलाई भिसा दिन कडाइ गरिरहेकै बेला कातिक तेस्रो साता गायक सुगम पोखरेलले एक कन्सर्टमा मदिरा खाएर काण्ड मच्चाए।

कन्सर्टमा सुगमले दर्शकलाई माइक्रोफोन र बोतलले हानेका थिए। आफ्नै कन्सर्ट हेर्न आएका दर्शकलाई उनले गरेको दुव्र्यवहारको भिडियोे विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको थियो। मदिरा सेवनका कारण कन्सर्टमा हल्लिँदै लठ्ठिएको आवाजले बोलिरहेका सुगमले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेहरूका लागि मौन धारण गर्न अनुरोध गरेका थिए। तर, दर्शकले खासै चासो दिएनन्।

त्यसपछि उनले एक दर्शकलाई माइकले हानेको सो भिडियोमा देखिएको थियो। उनको सो हर्कतको आलोचना भएपछि सुगमले दर्शकसँग टिकटकमार्फत माफी मागेका थिए।

बरिब १९ वर्षअघि निर्मित फिल्म कर्तव्यको गीत बादल वर्षा बिजुली सामाजिक सञ्जाल टिकटकमा अचानक भाइरल भएपछि गीतको चर्चा नेपालमात्र नभई भारतलगायत विभिन्न देशमा फैलियो। टिकटकमा उस्तै स्टेपसहित विभिन्न देशबाट टिकटक बनाउने होडबाजी नै चल्यो। गायकगायिका आनन्द कार्की र प्राश्ना शाक्यको स्वर गीतकार करुण थापाको शब्द रहेको गीत टिकटकबाट भाइरल भएसँगै युट्युबलगायत विभिन्न प्लेटफर्ममा करोडौंपटक हेरेपछि सो गीतको नयाँ भर्सन पनि ल्याइयो।

माघ अन्तिम साता गायक खेम सेन्चुरी र गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको गीत कट्टा हान्दिन्छु विवादको उत्कर्षमा पुग्यो। गायक विश्वराम कार्कीले सो गीत आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै प्रतिलिपि अधिकार रजिस्टार कार्यालयमा उजुरीसमेत दिए। कार्कीले पुरानो गीत आफ्नो भएको, तर उल्टै आफूलाई चोरीको आरोप लगाएर मानसिक यातना दिएको र आफ्नो गीत हुबहु नक्कल गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझीको युट्युब च्यानलमा गीत रिलिज गरिएको उजुरीमा उल्लेख गरेका थिए।

फागुन २० गते पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुति दिने क्रममा गायिका एलिना चौहान र प्राविधिक पक्षका एक टेक्निसियनबीचको भनाभनले विवादको रूप लियो। कतिपयले यसमा प्राविधिकको गल्ती रहेको भने। धेरैजसोले गायिका लिना चौहानलाई दोषी देखाए। यता, एलिनाले टेक्निसियनमाथि अभद्र व्यवहार गरेको साउन्ड व्यवसायीले आरोप लगाए।

त्यतिमात्र नभएर गायिका एलिनाले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले एलिना चौहान सहभागी हुने कुनै पनि कार्यक्रम साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका थिए। सोही घटनालाई लिएर गायिका एलिनाले फेसबुकमा स्ट्याटस लेख्दै माफी मागिन्।

गायिका शर्मिला श्रेष्ठले गायक तथा चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले कार्यक्रमबाट निकालेको र मानसिक हिंसाको शिकार भएकोजस्ता विभिन्न आरोप लगाएपछि सो विषय अदालतसम्म पुग्यो। विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारकाविरुद्ध आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौंमा फागुन ४ गते शर्मिला श्रेष्ठलगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराए । त्यसको केही समयपछि दुवै पक्षबीच सहमति भएको थियो ।

चैत्र तेस्रो हप्ता मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेशपायल राईसहित तीनजनालाई पक्राउ र्गयो । र, भोलिपल्ट राईलाई आफन्तको जिम्मा लगायो । उनी छुटेकै दिन उनी र उनकी पत्नी सङबुङ राईबीच सम्बन्ध विच्छेद भएको खबर बाहिरियो। चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको थियो ।तर, उनको सम्बन्ध विच्छेद भएको खबर पक्राउ परेपछि बाहिरिएको थियो ।

औपचारिक विवाह नगरी लिभिङ टुगेदरमा बसिरहँदा उनीहरूबाट एक सन्तानको जन्म भएको थियो । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो । वैवाहिक जीवन गोप्य राखिरहेका राईले पत्नी साङबुङका साथ सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए। सम्बन्ध विच्छेदपछि साङबुङले नक्सालमा रहेको राजेशपायलको साँढे तीनतलाको करिब पाँच करोड मूल्यबराबरको घर र पचास लाख नगद पाएकी थिइन् ।

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच चैत्र अन्तिम साता डिभोर्स भयो। दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए। तर, सम्बन्धमा दरार आएपछि सहमतिमै उनीहरूले सम्बन्धलाई टुंग्याए। २०७७ सालमा कानुनी विवाह गरेका निशान नेपाल आइडलका पहिलो सिजनका फस्ट रनर्सअपसमेत हुन् भने ऋचा मोडलिङ पेसामा आबद्ध छिन्।

रश्मी थापा कला क्षेत्रमा कलम चलाउनुहुन्छ ।