Logo

बागमती पेज

बैशाख ५, २०८१ बुधबार

लागुऔषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा १५ वर्षपछि पक्राउ, हिरोइन बिक्रीमा संलग्न


लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनी लागुऔषध मुद्दामा फरार थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्।

अदालतबाट दोषी हुँदा सर्वोच्च नगएका उनी एन्फामा प्रवेश गर्दै उपाध्यक्ष पदसम्म पुगेका थिए। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।

डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।

निर्वाचन समितिले पनि गम्भीर रूपमा छानबिन गरेको थिएन। तर एन्फा कार्यसमिति पक्ष-विपक्षमा केन्द्रित हुन थालेपछि लामाको विषय सतहमा आएको थियो। लगत्तै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लामा सम्पर्कविहीन बनेका थिए।

गत सातदेखि भने उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए। एन्फा विधानको धारा २४ मा लागुऔषध बिक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेख छ। विधानअनुसार लामाको उपाध्यक्ष पद स्वत: खारेज हुन्छ।