Logo

भवानी कार्की

बैशाख ७, २०८१ शुक्रबार

जन्ती बोकेको बस दुर्घटनाः अधुरै रह्यो शुसिलको बेहुली भित्र्याउने सपना


काठमाडौँ । शुक्रबार दोलखाबाट सिन्धुपाल्चोक विवाहका लागि जन्ती लिएर गएको बस दुर्घटना भएको खबर आयो । बस एकान्त ठाँउमा दुर्घटना भएपनि घटनाको खबर भने चौतर्फि फैलियो । सडकबाट करिब एक सय मिटर तल खसेर बस दुर्घटनाग्रस्त भयो । उक्त बसमा सवार ५५ जनामध्ये ३ जनाको घटना स्थलमै मृत्यु भएको खबर सुनियो ।

बैशाख महिना विवाहको मौसम पनि हो । जताततै विवाहको माहौल चलिरहेको छ । सोही क्रममा भीमेश्वर नगरपालिका १ का बेहुला शुसिल थामीको घरमा पनि विवाहको भव्य तयारी थियो । अघिल्लो रात नाचगान गरेर बिहान बेहुलाको भेषमा सजिएर उत्साहपुर्वक सिन्धुपाल्चोक पिस्कर स्थित बेहुलीको घरमा हिडेका बेहुला पुग्न नपाउँदै आफ्ना जन्ती गुमाउन पुगे ।

आफुपनि घाइते हुन पुगे । बेहुला शुसिलकी आमा पनि उक्त बसमा सवार थिइन् । दुर्घटनामा उनी पनि घाइते भएकी छन् । दुलही लिन हिडेकी उनको सपना बाटोमै टुटेको छ । बेहुली लिन आउँदै गरेको बस दुर्घटनामा परेको खबर सुन्दा बेहुलीको मन कस्तो भयो होला ?

बसमा सवार ५५ जनामध्ये बेहुला सहित ५२ जना घाइते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका १ का १७ बर्षिय शिव श्रेष्ठ, सोही स्थानका ७० बर्षिय मान बहादुर थामी र १९ बर्षिय दिपेन्द्र थामीको भने घटना स्थलमै मृत्यु हुन पुग्यो ।

यो घटनाले भीमेश्वर १ सँगै सिंगो जिल्लानै शोकमा डुबेको छ । हाँसीखुसी रमाइलो गर्दै बेहुली लिन हिडेका जन्ती सबै दुर्घटनामा परे । बेहली लिएर रत्यौली खेल्ने समयमा जन्तीको मृत्यु हुन पुग्यो ।

दुर्घटनामा सामान्य घाइतेहरुको उपचारपछि डिस्चार्ज भएको छ । बिहान करिव तीन बजेतिर जन्ती अन्मीएको बसमा सवारहरुको भनाई छ ।  दुर्घटनामा घाईते भएका २१ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारवती भन्ने स्थानमा दुर्घटना भएपछि प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए । जन्ती बोकेको बा ४ ख ५६१६ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिएका छन् ।

बस अनियन्त्रित भएर पल्टदैँ खसेको देखेपछि एक स्थानीयले प्रहरी र उद्धार टोलीलाई खबर गरेका थिए ।