Logo

बागमती पेज

बैशाख २२, २०८१ शनिबार

काठमाडौँको पत्रकारिता र शुद्धीकरणको तमासा


काठमाडौँ । देशको सबभन्दा बढी पत्रकार जनशक्ति केन्द्रित भएको ठाउँ हो काठमाडौँ उपत्यका । ललितपुर र भक्तपुरसमेतको सङ्ख्या जोड्दा यहाँ देखिने पत्रकारको सङ्ख्याभित्र यो पेसाले समृद्ध दिशा पक्डिनुपर्ने हो । तर, वास्तविकता फरक छ । 

पत्रकार महासङ्घका सदस्य सङ्ख्याका दृष्टिले हेर्ने हो भने काठमाडौँ जिल्लामा १४ सयभन्दा बढी सदस्य छन् । काठमाडौँ बसेर पत्रकारिता गर्ने पत्रकारले महासङ्घको जिल्ला शाखाबाट भन्दा बढी एसोसिएट्स र प्रतिष्ठान शाखाहरूबाट सदस्यता लिएका छन् । जिल्ला शाखामा प्रायः साप्ताहिक, पाक्षिक, मासिक अखबारका पत्रकार र केही दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका पत्रकारसमेत छन् ।

यथार्थ के हो भने, काठमाडौँ शाखाबाट पत्रकार महासङ्घको सदस्य रहेका १४ सयमध्ये आधा मानिस मात्रै पत्रकारिता गर्ने पत्रकार हुन् । बाँकी म्यानपावरका एजेन्ट, होटेल–रेस्टुराँका मालिक, मेडिकल रिप्रेजेन्टेटिभ (एमआर), गृहिणीलगायतका व्यक्ति छन् । पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणका नाममा थुप्रै गैर पत्रकारलाई महासङ्घको सदस्यबाट बिदा गर्ने खबर सुनिन्छ । हामीले काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको शुद्धीकरण सिफारिस हेर्ने मौका पायौँ । देख्यौँ, गैर पत्रकारको शुद्धीकरण हैन, क्रियाशील पत्रकारलाई ‘मानार्थ’, ‘निष्क्रिय’ जस्ता संज्ञाका साथ सदस्यताबाट वञ्चित गर्ने सिफारिस भएका छन् । पुरानो क्रमाङ्कमा नयाँ मानिसको नाम राख्दै ‘नवीकरण गर्नुपर्ने’ सूचीमा भेटिन्छ । पुराना सदस्य विभिन्न नाममा शुद्धीकरण भएका छन् । 

गम्भीर सवाल के हो भने, हामी यस्तो किसिमको शुद्धीकरणको धन्दा गर्दै कस्तो पत्रकार महासङ्घ निर्माण गर्न जाँदैछौं अरु वास्तविक पत्रकारलाई हटाएर, पत्रकारिताबाहेक अरू काम गर्ने मानिसबाट पत्रकारको नेतृत्व चयन गराउने यो अभ्यास पत्रकार महासङ्घलाई बाँकी राख्नका लागि गरिँदै छ कि सिद्ध्याउनका लागि रु यो काठमाडौँको मात्रै सवाल होइन । देशभरिबाट आएका सदस्यता शुद्धीकरणका सिफारिस हेर्ने हो भने गैर पत्रकारलाई शुद्धीकरण गर्ने नाममा वास्तविक पत्रकार सदस्य हुनबाट वञ्चित हुँदै छन् । 

शुद्धीकरण मापदण्डका केही बुँदाहरू सुन्दैमा उदेक लाग्दा छन् । कुनै निर्वाचनमा उम्मेदवार भएर, चुनाव हारेपछि पत्रकारितामा फर्किएकाहरू महासङ्घको सदस्य बन्न नपाउने भनिएको छ । शिक्षण पेसामा संलग्न भएका, राजनीतिक दलको पदाधिकारी रहेका, विभिन्न मन्त्री, पालिका प्रमुखको प्रेस संयोजन गर्ने क्रममा कम्प्युटर अपरेटरको दरबन्दीमा नियुक्ति लिएकाजस्ता नाममा शुद्धीकरण सिफारिस भएका छन् । पत्रकार महासङ्घका सदस्य, जो पत्रकारिता गर्दैनन्, उनीहरू मात्रै शुद्धीकरणमा पर्नुपर्ने हो । तर, शिक्षण पेसामा संलग्न व्यक्तिले जति राम्रो समाचार शायदै कसैले लेख्ला । उनीहरू शिक्षक हुन सक्छन्, तर समाचार लेख्दा पत्रकार भएरै लेख्ने हुन् । राजनीतिक दलमा आबद्ध नभएका पढालेखा नेपाली बिरलै छन् । न्यायाधीशदेखि कर्मचारी, वकिल, डाक्टर पनि राजनीतिक दलका सदस्य हुने हाम्रो देशमा पत्रकारले चाहिँ राजनीतिक दलको पदाधिकारी भएकै नाममा पत्रकार महासङ्घको सदस्य बन्न नपाइने कुरा निन्दनीय छ । 

मन्त्री र पालिका प्रमुखको प्रेस हेर्न जाने साथीहरूले दरबन्दी नहुँदा विभिन्न करारका दरबन्दीमा नियुक्ति लिई तोकिएको जिम्मेवारी बहन गर्नुपर्ने र त्यसबापतको पारिश्रमिक लिनुपर्ने बाध्यता छ । महासङ्घले यही बहानामा वास्तविक पत्रकारलाई पत्रकार होइन भन्ने महासङ्घबाट लखेट्न खोज्दै छ । पत्रकार महासङ्घले त प्रत्येक मन्त्रालय, पालिकामा प्रेस संयोजकको दरबन्दीको माग गर्दै अभियान चलाउनुपर्ने, दबाब दिनुपर्नेमा उल्टै त्यहाँ गएका पत्रकारलाई फरक नाममा नियुक्ति पत्र बुझ्यो भनेर शुद्धीकरण गर्ने काम भइरहेको छ ।

अहिले चलिरहेको शुद्धीकरण जति गाईजात्रे छ, काठमाडौँको पत्रकारिता पनि त्यस्तै छ । काठमाडौँ शाखामा त वास्तविक पत्रकारको मतमा भर परेर कोही पनि निर्वाचित हुने अवस्था छैन । काठमाडौँलाई कार्यक्षेत्र मानेर सूचना तथा प्रसारण विभागबाट प्रेस पास लिने पत्रकार हेर्दा त्यत्तिकै विरक्त लाग्दो अवस्था छ । व्यापारी, गुप्तचर, कर्मचारीदेखि अनकन क्षेत्रमा लागेका गैर पत्रकारले प्रेस पास बोकेका छन् । 

देशका ठुला–ठुला सञ्चार गृह, वरिष्ठ तथा विभिन्न विषयका विज्ञ पत्रकारको सङ्ख्या पनि काठमाडौँमै बढी छ । अनलाइन तथा मल्टिमिडियासँग सम्बन्धित पत्रकारिताको विकासपछि काम जानेका पत्रकारलाई कामको अभाव छैन । ठुला भनिएका केही सञ्चार गृहले तलबमा विभेद गरेको सत्य हो । तर, चलेका मिडियाले महिना–दुई महिनामा भए पनि तलब दिइरहेका छन् । 

अचम्म के छ भने, सबभन्दा बढी बेरोजगार पत्रकार पनि काठमाडौँमै छन् । नापी, मालपोत, यातायात, श्रम कार्यालयदेखि म्यानपावरतिर धाउने पत्रकार घटेनन् । पत्रकारिता नगरे पनि पत्रकारका नाममा ठाउँ–ठाउँमा उनीहरू धाइरहेका छन् । बजारमा नदेखिने पत्रपत्रिका सूचना विभाग र प्रेस काउन्सिलमा त देखिन्थ्यो । अहिले उपत्यकाका दुई महानगर र नगरपालिकाहरूमा सूचना विभाग र प्रेस काउन्सिललाई पनि माथ खुवाउने  गरी विज्ञापन छापेर पत्रिका बुझाउने लहर चलेको छ ।

पत्रकार सभ्य हुनुपर्छ, पत्रकारिता मर्यादित हुनुपर्छ र पेसाको विश्वसनीयता बचाउनुपर्छ भन्ने कुराको ज्ञान सबभन्दा बढी काठमाडौँको पत्रकारितालाई चाहिएको छ । काठमाडौँ टाढाको भगवान्जस्तो हो, नजिकबाट हेर्दा कुरूप छ ।

(आशिष गुरागाईं समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष हुन् ।)