Logo

बागमती पेज

जेष्ठ २३, २०८१ बुधबार

आफूसँगै तीन छोरीलाई आगो लगाएपछि…


काठमाडौँ । विगत केही समय अघिदेखि काठमाडौँ स्थित चाबहिलमा बस्दै आएका थिए चञ्चल सिंहको परिवार । परिवारमा श्रीमतीसहित तिन छोरी अनि चञ्चल बस्दै आएका थिए । 

चञ्चल बेलाबेला मदिरा सेवा गरेर श्रीमती र छोरीहरूसँग झगडा गरिरहन्थे । त्यतीमात्र नभएर श्रीमतीमाथि हिंसा पनि गरिरहन्थे । उनको हिंसाले सीमा नाघिसकेको थियो । यही मङ्गलवार राति पनि चञ्चल मदिरा सेवा गरेर घर फर्किए अनि श्रीमती र छोरीहरूसँग झगडा गर्न थाले । 

घटना राती ८ बजेतिरको हो मदिराले लट्ठ परेका चञ्चलले श्रीमतीसँग केही समय विवाद गरिसकेपछि आफू र परिवारका सबै सदस्यमाथि पेट्रोल छर्केर आगो लगाए । राति ८ बजेतिर ५२ वर्षका चञ्चल सिंहले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षकी श्रीमती बिनु सिंह, छोरीहरू २५ वर्षीय सुप्रिया, १६ वर्षीय समृद्धि र ८ वर्षीय साहुनीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूको उद्धार गरी अस्पताल पर्यायको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतालमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धको आइसियुमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत छन् ।

चञ्चलले यसअघि पनि रक्सी खाएर श्रीमतीसँग झगडा गर्ने र पटक पटक मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमान्ले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् । प्रहरी पुगेर चञ्चललाई सम्झाएर फर्किएको थियो ।