Logo

बागमती पेज

श्रावण २०, २०८१ आईतबार

सरकारप्रति जनताको आशा र भरोसा पलाएको छ : प्रमुख सचेतक घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अहिलेको सरकार निर्माण भएलगत्तै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले बर्दिवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक घिमिरेले वर्तमान सरकारमाथि जनतामा आशा पलाएको दावी गरेका हुन् ।

उनले सरकारमाथि जनताको आशा पलाएकै कारण सेयर बजारले लय लिएको जिकिर गरे। ‘जनतामा आशा पलाएकै कारण नेप्से परिसूचक माथिल्लो लेवलमा पुगेको छ । रियलस्टेटमा पनि बढोत्तरी भइरहेको छ । जनताको आशा र भरोसाले अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पग्छ,’उनले भने।

उनले यो गठबन्धन बाँकी संसदको अवधिभर जाने दावी गरे। उनले भने, ‘यसैले जनताको यो आशा र भरोसा तोड्ने अधिकार वर्तमान सरकारलाई छैन ।’

संविधानमा देखिएका केही समस्या,जटिलता र अप्ठ्याराहरूलाई समाधान गर्न संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर त्यसको गृहकार्य पछि संशोधन गरिने उनको भनाइ छ ।

सरकारले व्यवसायीमैत्री आर्थिक नीति ल्याउन लागेको पनि उनले सुनाए । मौद्रिक नीति पनि व्यवसायी अनुकूल रहेको उनको भनाइ छ । ‘मौद्रिक नीति पनि व्यवसायी अनुकूल छ । यो सरकारले आर्थिक नीति पनि व्यासायी मैत्री ल्याउँछ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘यसले सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

गिरिबन्धु टी स्टेट प्रकरणमा दोषी प्रमाणित भएकालाई कारबाही हुने उनले बताए । ‘गिरीबन्धुको विषय पार्टीले आधिकारिक निर्णय गरेर उठाको विषय होइन । सांसदहरुले आफ्नो ढंगले उठाउनुभएको हो । त्यसमा कोही दोषी प्रमाणित हुन्छ भने कारबाही हुन्छ । कारबाही प्रक्रिया अगाडि बढ्छ,’उनले भने,’ चाहे त्यो जोसुकै मान्छे होस्।’

गिरिबन्धुको विषयलाई बचाउ गर्दै प्रमुख सचेत घिमिरेले ‘गिरीबन्धु टि स्टेको बारेमा एउटा कानुन बनाएर जग्गा साटफेर गर्ने कुरा गरियो । तर, त्यो साटफेर भएन । त्यसलाई अदालतले रोक्यो । त्यो प्रक्रिया नै अगाडि बढेन ।’

छिमेकी मुलुकहरू र अन्तराष्ट्रिय शक्ति राष्ट्रहरूलाई विश्वासमा लिन दरिलो सरकारको आवश्यकतालाई ध्यानमा राखेर यो सरकार निर्माण भएको उनले दावी गरे । संविधानमा देखिएका केही समस्या,जटिलता र अप्ठ्याराहरूलाई समाधान गर्न संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर त्यसको गृहकार्य पछि संशोधन गरिने उनको भनाइ छ ।