Logo

बागमती पेज

मंसिर २२, २०८१ शनिबार

कपन सामुदायिक क्याम्पसकी प्रमिता बनिन् नेपाल प्रथम


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन सामुदायिक क्याम्पसमा अध्ययनरत प्रमिता गौतम नेपाल प्रथम भएकी छन् । बिबिएस चौथो वर्षमा गौतमले देशभरका सामुदायिक क्याम्पस मध्येबाट गौतमले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

०८१ सालमा बिबिएस चौथो वर्षको नतिजा ७९.६४ प्रतिशत ल्याएर गौतमले नेपाल टप गरेकी हुन् । कपन सामुदायिक क्याम्पसमा अध्ययनरत गौतमले निजी विद्यालयमा पढेर मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्नेहरूलाई गतिलो जवाफ नतिजा बाटै दिएकी छन् ।

नेपाल प्रथम भएकी प्रमिता गौतमले भनिन्, ‘आफ्नो मेहनत र लगनशिताले आज यो सफलता हासिल गर्न सफल भएकी छु । यसमा मेरो क्याम्पस र मेरा अभिभावकको महत्त्वपूर्ण योगदान छ । आत्मविश्वासका साथ मेहनत गर्दा आज यो स्थानमा पुग्न सफल भएकी हुँ ।’

५ महिना अघिदेखि आफूले धेरै मेहनत गरेर तयारीका साथ अध्ययन गरेर यो स्थान हासिल गर्न सफल भएको उनले बताइन् । केही नजानेका र झुक्किने प्रश्न उत्तर सर म्यामलाई सोध्ने तथा सामाजिक सञ्जालमा समेत हेर्ने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘क्याम्पसका गुरुले गाइड गर्ने र आफूले मेहनत गर्दा सफलता प्राप्त गर्न सकिँदो रहेछ ।’

कतिपय अभिभावक तथा विद्यार्थीहरू अत्यधिक शुल्क लिने शैक्षिक संस्थामा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने भ्रममा हुनुहुन्छ । यस वर्ष प्रतिमाको नतिजाले प्रस्ट पार्छ की कस्ता र कति शुल्क लिने शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा दिन्छ भनेर ।

कपन क्याम्पस प्रमुख भूमिदत्त पौडेलले कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताएका छन् । आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई समेत क्याम्पसले अध्ययन गराउन सहजीकरण गर्ने उनको भनाई छ । कपन सामुदायिक क्याम्पसले शुक्रवार गौतम समेत चौथो वर्ष उतिर्ण भएका विद्यार्थीलाई सम्मान समेत गरेको थियो ।