Logo

बागमती पेज

पुस २६, २०८१ शुक्रबार

८४ दिनको हिरासत बसाइपछि ६५ लाख धरौटी बुझाएर छुटे लामिछाने


काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासको आदेशअनुसार बिहीबार ६५ लाख धरौटी बुझाएर ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर भइसकेकोले शुक्रबार आफैं उपस्थित हुने कागज गरी उनलाई साँझ परिवारको जिम्मा लगाइएको छ । सहकारी ठगी लगायतका कसुरमा कात्तिक २ मा उनलाई पक्राउ गरिएको थियो ।

अदालतले पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छोडेको छ । अदालतले एमालेबाट गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई समेत धरौटीमा छाड्ने आदेश दिएको छ ।

जोशीसँग ८८ लाख, पछाईसँग ३७ लाख, खनालसँग १५ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको थियो । पछाईबाहेक ६ जना धरौटी बुझाएर बिहीबारै हिरासतमुक्त भएका छन् ।

लीला पछाई भने धरौटीको प्रक्रियामा नगएपछि कागज गरी कास्की कारागार चलान गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । पछाईको परिवार सम्पर्कमा आएर अदालतले तोकेको धरौटी बुझाएपछि थुनामुक्त गरिने खनालले जानकारी दिए ।