काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह,व्रतबन्ध,पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताइन् ।
पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनले बताइन् । ‘पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।’ एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले जानकारी दिइन् । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाइ छ । पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताइन् ।
पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताइन् । ‘भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ’ उनले भनिन् । पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
‘गाउँमा झगडा भएमा मिलाइदिनुपर्यो भन्दै खासगरी दिदीबहिनीहरु आउनुहुन्छ’, उनले भने, ‘त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।’ घरहरुमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्