Logo

मेघनाथ पहाडी

फाल्गुन १४, २०८१ बुधबार

बुढानीलकण्ठ ९ को प्रशासनिक भवन भव्य रुपमा उद्घाटन


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ को प्रसाशनिक भवन उद्घाटन गरिएको छ । वडाको प्रशासनिक भवन महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते (आज) नगर प्रमुख मिठाराम अधिकारीले गरेका हुन् ।

नगर प्रमुख अधिकारीले नवनिर्मित भवनबाट छिटो छरितो र सहज रुपमा वडावासीको काम गर्न अनुरोध गरे । उनले वडाका अत्यावस्यक र विकास हुन बाँकी कामहरु वारे जानकारी गराउन अनुरोध गर्दै वडा भित्र भएका अन्य योजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जनप्रतिनिधि तथा वडावासीको साथ सहयोगका कारण प्रशासनिक भवन उद्घाटन गर्न सफल भएको बताइन् । विगतमा केही समस्या भोग्दै भएपनि आज उद्घाटन गरेर भोलीका दिनमा यहाँबाट सेवा दिन पाउँदा खुशी व्यक्त गरिन् ।

सामुदायिक भवन उद्घाटन कार्यक्रम संचलन बविता कार्कीले गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य रमेश गौतमले राखेका थिए ।

०७४ सालको स्थानीय निर्वाचन पछि पूर्व नगर प्रमुख उद्धव खरेलको नेतृत्वमा रहेको बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक भवन बनाउने निर्णय गरेको थियो । ०७७/०७८ सालमा छिमेकी तथा स्थानीयको अवरोध तथा असहमतिका कारण भवन निर्माणमा बाधा पुग्यो । असहमतिका कारण भवन निर्माणको काम रोकियो पनि । पूर्व नगर प्रमुख उद्धव खरेल लगायतलाई स्थानीयहरुले ३ वटा मुद्धा हालेर काममा थप असहज भएको थियो ।

०७९ सालमा सुमित्रा त्रिपाठी वडाध्यक्ष निर्बाचित भएपछि उलको अघिल्लो कार्यकालको सपनामा अनुसार स्थानीयहरुको साथ र सहमतिमा जुटेसँगै उनीहरुलाई सम्मान गर्दै वडाले ०८० सालमा समामुदायिक भवन निर्माणको शुरुवात गरेको हो । विभिन्न ढंगले स्थानीयलाई सहजिकरण गर्दै तिनै छिमेकी र स्थानीयको सहमतिमा सोही स्थानमा प्रशासनिक भवन निर्माण गरिएको हो ।