Logo

बागमती पेज

असार ७, २०८२ शनिबार

धोबीखोला सरसफाई अभियान सम्पन्न, बाढी जोखिम घट्यो


काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले चैत्र १७ गतेदेखि सुरु गरेको रुद्रमति–धोबीखोला सरसफाई अभियान असार ४ गते सम्पन्न भएको छ। तीन महिनासम्म चलेको उक्त अभियानमा नगरपालिकाको श्रम डेस्कमा सूचीकृत १५ जना सरसफाईकर्मी परिचालन गरिएका थिए।

यस अभियानमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक रामकुमार रोक्काको विशेष निगरानी रहेको थियो। सरसफाईको क्रममा खोलामा जमेको फोहोर, ढिस्का, झाडी लगायतका अवरोध हटाइएको र फोहोर व्यवस्थापनमा सरोकारवाला संस्थाहरूले साथ दिएका थिए।

कार्यक्रम डिभिजन वन कार्यालय हात्तीसारसँगको सहकार्यमा सञ्चालित भएको हो। नगरस्तरीय संयोजन वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको नेतृत्वमा गरिएको थियो भने अन्य वडाध्यक्ष, प्राविधिक र वातावरण शाखाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

अभियान सफलतापूर्वक सम्पन्न भएपछि नगरप्रमुख मिठाराम अधिकारीले सरसफाईमा खटिने सबैलाई धन्यवाद दिंदै प्रशंसा पत्र वितरण गर्नुभएको छ। कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख बद्री कार्कीले खर्च तथा सहकार्यबारे जानकारी गराउनुभएको थियो।

नगरपालिकाले यस आर्थिक वर्षमा धोबीखोलालाई ‘Water Entertainment Hub’ को रूपमा विकास गर्ने र त्यसका लागि चेक ड्याम निर्माण तथा पूर्वाधार विस्तारको बजेट व्यवस्था गरिने जनाएको छ।

नगरपालिकाले यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।