Logo

मेघनाथ पहाडी

भाद्र ३, २०८२ मंगलबार

बुढानिलकण्ठ– १३ रास्वपा सभापतिमा सरोज राज श्रेष्ठ निर्वाचित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुढानिलकण्ठ नगरपालिका–१३ को वडा सभापतिमा सरोज राज श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न भेलाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिमा उपसभापतिमा निर्मला बस्नेत, सचिवमा अजय श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा शेरबहादुर कोइराला, निरमाया सुनुवार, नारायणबहादुर श्रेष्ठ, खुरराज चौलागाई, सुजाता कोइराला र विश्वराम खत्री रहेका छन् ।

नव निर्वाचित सभापति सरोज राज श्रेष्ठले भने, “रास्वपाले आगामी दिनमा पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै स्थानीय स्तरमै जनताको भरोसा जित्ने काम गर्छ। अब हामी सबै मिलेर मिसन ८४ को तयारीमा लाग्नुपर्ने आवश्यकता छ।”

भेलामा रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्य रहेका थिए । सो अवसरमा नेताले संगठनलाई सशक्त बनाउँदै स्थानीय तहमा पार्टीको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । प्रतिनिधि सभा सदस्य समेत रहेका विराजभक्त श्रेष्ठले “रास्वपाको राजनीति व्यक्तिवादी नभई संस्थागत प्रणालीमा आधारित छ। हामीले स्थानीयदेखि केन्द्रसम्म जनता–मुखी कार्यशैली देखाउनुपर्छ। वडा १३ बाट सुरु भएको नयाँ नेतृत्वले यही अभियानलाई बल पुर्‍याउनेछ।”

भेलामा स्थानीय स्तरमा लामो समयदेखि नेकपा माओवादी केन्द्रसँग आवद्ध रहँदै आएका नेता अमर श्रेष्ठले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका छन् । उनको प्रवेशले बुढानिलकण्ठ क्षेत्रमा पार्टी थप सुदृढ हुने अपेक्षा गरिएको छ । अमर श्रेष्ठले “माओवादी केन्द्रमा लामो समय क्रियाशील भए पनि अहिलेको परिस्थिति रास्वपाको वैकल्पिक राजनीति आवश्यक छ भन्ने बोध भएको छ। स्थानीय विकास, सुशासन र जनअपेक्षा पूरा गर्न रास्वपा नै सक्षम छ भन्ने विश्वासका साथ मैले प्रवेश गरेको हुँ।”

कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता र स्थानीयबासीको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले नयाँ नेतृत्वले वडाभित्र संगठनात्मक बल मात्र नभई सामाजिक सद्भाव, पारदर्शिता र उत्तरदायित्वसहित काम गर्ने विश्वास व्यक्त गरेका छन् ।