काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राख्ने विषयमा प्रशासनले आनाकानी गरेको छ। करिब दुई घन्टा अगाडि नै पुगेका भए पनि अहिलेसम्म उनलाई कारागारभित्र हालिएको छैन।
रविलाई लिएर रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र पत्नी निकिता पौडेल नख्खु कारागार पुगेका छन्। उनीहरू अहिले पनि कारागार परिसरमै छन्। सचिवालयका कर्मचारीहरू कागज बोकेर यताउता व्यस्त देखिएका छन्। असुरक्षाको कारण देखाएर प्रशासनले लामिछानेलाई राख्न नचाहेको आशंका गरिएको छ। यसबीच जेलभित्र अरू कैदीबन्दीहरू पनि प्रवेश गर्न थालेका छन्।
यसैबीच, आज रवि लामिछानेको जन्मदिनका अवसरमा उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिएकी छन्। लामिछानेले अस्पताल जान, आमाबुबाको श्राद्धमा सहभागी हुन र जन्मदिन मनाउने अवसर पाए पनि ‘न्याय पाएपछि मात्रै जन्मदिन मनाउँछु’ भन्दै कारागार फर्किन अडान लिएको प्रसंग उनले पोस्टमा उल्लेख गरेकी छन्।
निकिताले लेखेकी छन् –
“तिमीसँग भेट भएदेखि पहिलोपटक तिम्रो र मेरो जन्म दिनमा तिमी र म सँगै छैनौं। म घरमा एक्लै छु तर मनभरि तिमी नै तिमी छौ। तिमीमाथि पाप गर्नेहरूलाई जनताले नाङ्गेझार पारे। तिमी अझै दुःख खेपिरहेका छौ। तर तिमी चिन्ता नगर, म हारेकी छैन। त्यसमाथि हिजोबाट त देशमा नयाँ बिहानी आएको छ। आशा गर्छु त्यो बिहानीको किरण मेरो घरसम्म आइपुग्नेछ। पापीहरूले उजाड पार्न खोजेको मेरो सुन्दर, सानो घरमा नयाँ बिहानीले पक्कै पनि उज्यालो छर्नेछ। जन्मदिनको धेरै धेरै शुभकामना। तिमीले न्याय पाएको दिनलाई तिम्रो नयाँ जन्मदिन मानी हामी मिलेर फेरि दही काटौला, दियो बालौला। यो घर पनि, यो देश पनि उज्यालो पारौला। म छु, जनता छन्, पिर नगर है। Happy Birthday My Dear Buda #JusticeForRabiLamichhane.”
प्रतिक्रिया दिनुहोस्