Logo

बागमती पेज

१२ मंसिर २०८२, शुक्रबार

उत्पादनमूलक क्षेत्रमा सामाजिक सुरक्षा कोषको लगानी गर्न आग्रह, निजी क्षेत्रको सहयोग तत्पर


उत्पादनमूलक क्षेत्रमा सामाजिक सुरक्षा कोषको लगानी गर्न आग्रह, निजी क्षेत्रको सहयोग तत्पर

काठमाडौँ:
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उत्पादनमूलक क्षेत्र र देशको ठूला पूर्वाधारमा परिचालन हुनुपर्ने बताएका छन्।

सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कोषमा हाल ९५ अर्बभन्दा बढी रकम जम्मा भएको तर यसको सदुपयोग पर्याप्त नभएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार, लगानीका लागि कायम कार्यविधि र प्रक्रियामा भएको अवरोध हटाउन आवश्यक छ। “कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म यसको उद्देश्य पूरा हुँदैन,” ढकालले भने।

उहाँले अनौपचारिक क्षेत्रमा रहेका धेरै श्रमिक अझै सामाजिक सुरक्षाको दायरामा नपरेको औंल्याउँदै, तिनीहरूलाई तुरुन्त सामाजिक सुरक्षामा ल्याउन सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। साना र मझौला उद्योगलाई सरकारको सहुलियत उपलब्ध गराएर त्यहाँ काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा समेट्नुपर्ने ढकालको भनाइ छ।

अध्यक्ष ढकालले औद्योगिक क्षेत्र र ट्रेड युनियनबीच असल श्रम सम्बन्ध कायम गर्दै सकारात्मक औद्योगिक वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँका अनुसार, निजी क्षेत्रले श्रमिकको कल्याणका लागि कोषसँग सहकार्य गर्न तयार छ र उद्योग वाणिज्य महासंघले पनि श्रमिकसँग सुमधुर सम्बन्ध कायम राख्न तत्पर रहेको छ।