Logo

बागमती पेज

२३ मंसिर २०८२, मंगलबार

फेरील्यान्ड स्कुलमा विश्व ध्यान दिवसको तयारी : २७० विद्यार्थीको सामूहिक ध्यान, प्रिन्सिपलको सन्देश—“विद्यार्थीको मानसिक विकासका लागि ध्यान अनिवार्य”


फेरील्यान्ड स्कुलमा विश्व ध्यान दिवसको तयारी : २७० विद्यार्थीको सामूहिक ध्यान, प्रिन्सिपलको सन्देश—“विद्यार्थीको मानसिक विकासका लागि ध्यान अनिवार्य”

काठमाडौं — आज फेरील्यान्ड स्कुलमा विश्व ध्यान दिवस (World Meditation Day) को तयारी अन्तर्गत एक घण्टे विशेष सामूहिक ध्यान कार्यक्रम सम्पन्न गरिएको छ। कक्षा ५ देखि ९ सम्मका २७० जना विद्यार्थीहरूले सहभागिता जनाएका उक्त कार्यक्रमले विद्यालयलाई ध्यान–मैत्री वातावरण निर्माणतर्फ एक कदम अघि सारेको छ।

गत वर्ष, श्री श्री रविशंकरको पहलमा संयुक्त राष्ट्रसंघ (UN) ले २०२४ देखि प्रत्येक डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो। सोही निर्णयलाई समर्थन गर्दै विद्यालयमा यो वर्ष ध्यान अभ्यासलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको हो।

कार्यक्रममा आर्ट अफ लिभिङकी वरिष्ठ प्रशिक्षक दामयन्ती रायलमाझीले एक घण्टे सत्रमार्फत विद्यार्थीहरूलाई ध्यानका आधारभूत विधि, श्वासप्रश्वास अभ्यास र मानसिक शान्तिको महत्त्वबारे प्रशिक्षण दिनुभयो। विद्यार्थीहरूले प्रशिक्षकको निर्देशनमा सामूहिक रूपमा गहिरो ध्यान अनुभव गरेका थिए।

सो अवसरमा रमा, सरोज, घनश्याम र कौशलले स्वयंसेवकका रूपमा कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निभाए।

विद्यालयका प्रिन्सिपल बिष्णु चन्द्र अधिकारीले कार्यक्रमप्रति खुशी व्यक्त गर्दै भन्नुभयो,
“हाम्रा विद्यार्थीहरू केवल पढाइमा मात्र होइन, मानसिक स्वास्थ्यमा पनि सक्षम हुनुपर्छ। ध्यानले उनीहरूमा अनुशासन, एकाग्रता, भावनात्मक सन्तुलन र सकारात्मक सोच विकसित गराउँछ। यही कारण फेरील्यान्डले ध्यानलाई विद्यालय संस्कृतिको महत्वपूर्ण हिस्सा बनाएको छ।”

विद्यालयले आगामी दिनहरूमा पनि ध्यान, योग, माइन्डफुलनेस र मानसिक सशक्तिकरणसम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।