गेट कलेजमा ‘विश्व ध्यान दिवस’ सम्पन्न: विद्यार्थीलाई डीन सञ्जीव उदासले दिए सकारात्मक सोचको मन्त्र
काठमाडौँ । मन्डिखाटारस्थित मुलुककै अग्रणी शैक्षिक प्रतिष्ठान ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) मा ‘विश्व ध्यान दिवस’ को अवसर पारेर एक विशेष ध्यान सत्र सम्पन्न भएको छ। ‘आर्ट अफ लिभिङ नेपाल’ को आयोजनामा भएको उक्त एक घण्टे सत्रमा कलेजका विद्यार्थी तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
संयुक्त राष्ट्रसंघले गत डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रूपमा मनाउने ऐतिहासिक निर्णय गरेसँगै नेपालका विभिन्न क्षेत्र र निकायहरूमा ध्यानका कार्यक्रमहरू आयोजना भइरहेका छन्। सोही अभियानलाई आत्मसात् गर्दै गेट कलेजमा आयोजित सत्रमा आर्ट अफ लिभिङकी वरिष्ठ प्रशिक्षक रमा रायमाझीले सहजीकरण गर्नुभएको थियो। उहाँले कलेजका चौथो वर्षका विद्यार्थीहरूलाई मन शान्त पार्ने व्यावहारिक अभ्यास, श्वासप्रश्वासका प्रविधि र ध्यानका विधिहरू सिकाउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गेट कलेजका डीन सञ्जीव उदासले ध्यानले विद्यार्थीको मानसिक स्थिरता, आत्मविश्वास र सकारात्मक सोच विकासमा ठुलो योगदान पुऱ्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “आजको प्रतिस्पर्धी युगमा ध्यान विलासिता नभई आत्मविकास र नेतृत्व क्षमता अभिवृद्धिको मुख्य आधार हो। विद्यार्थीहरूले यसलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनु जरुरी छ।”
त्यसैगरी, कलेज समन्वयक सुशान्त तुलाधरले पर्यटन र अतिथि सत्कार (Hospitality) विषय अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि ध्यानको विशेष महत्व रहने उल्लेख गर्नुभयो। उहाँका अनुसार ध्यानमार्फत विद्यार्थीहरूले सेवा प्रवाहमा धैर्यता, मनोवैज्ञानिक सन्तुलन र आत्मीयता वृद्धि गर्न सक्नेछन्।
एकेडेमिक इन्चार्ज सबिता लुइटेलले दैनिक कार्यसम्पादनमा हुने तनाव व्यवस्थापन र कार्यक्षमता वृद्धिमा ध्यान सत्रले सकारात्मक ऊर्जा प्रदान गरेको र यो अभ्यास कलेज समुदायका लागि अत्यावश्यक रहेको धारणा राख्नुभयो।
विश्व ध्यान दिवसको अवधारणालाई विश्वव्यापी बनाउन आर्ट अफ लिभिङका संस्थापक एवं अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री श्री रवि शंकरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्रसंघको मुख्यालयमा ध्यान सत्रको नेतृत्व गर्दै ध्यानलाई आधुनिक जीवनका तनाव र विभाजनहरू कम गर्ने अनिवार्य अभ्यासका रूपमा व्याख्या गर्नुभएको थियो। सोही सन्देशलाई गेट कलेजले आफ्नो प्राज्ञिक वातावरणमा उतार्ने प्रयास गरेको छ।
नेपालको पर्यटन र आतिथ्य शिक्षामा अग्रणी स्थान बनाएको गेट कलेजले सैद्धान्तिक ज्ञानका साथै विद्यार्थीको मानसिक स्वास्थ्य र व्यावसायिक दक्षता अभिवृद्धि गर्न यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। यस कार्यक्रमले कलेज समुदायमा मानसिक स्वास्थ्य र एकाग्रताप्रति नयाँ चेतना जागृत गराएको आयोजकको विश्वास छ।
















प्रतिक्रिया दिनुहोस्