काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का युवा नेता प्रकाश कठायतले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटी जिल्लाबाट उम्मेदवारी घोषणा गरेसँगै जिल्लाको राजनीतिक परिदृश्यमा निर्णायक मोड आएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले उनलाई डोटीबाट एकल सिफारिस गरेपछि जिल्लाभर परिवर्तनको लहर देखिएको छ भने स्थानीय तहमा जनउत्साह उल्लेख्य रूपमा बढेको छ।
विद्यार्थी राजनीतिबाट संघर्षको यात्रा सुरु गरेका कठायत नेपाल कमर्स क्याम्पसमा अध्ययनरत रहँदा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष रहेका थिए। लामो समय आफ्नै गृहजिल्ला डोटीमा सक्रिय रहँदै उनले भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध निरन्तर आवाज उठाउँदै आएअका छन् । सामाजिक अभियान, जनसम्पर्क र सेवामार्फत जनताको दुःख–सुख नजिकबाट बुझ्ने नेताका रूपमा उनले बलियो पहिचान बनाइ सकेका छन् ।
उम्मेदवारी घोषणा गर्दै कठायतले मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, सुशासनको अभाव, युवाको विदेश पलायन, किसानका समस्या तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कमजोर अवस्थाजस्ता गम्भीर संकटसँग जुधिरहेको उल्लेख गरेका छन् । यी यथार्थ समस्यालाई संसदसम्म पुर्याएर नीति, कानुन र कार्यान्वयनमार्फत समाधानको दिशामा लैजान आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।
कठायतका अनुसार प्रतिनिधि सभा केवल निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने औपचारिक थलो होइन, किसान, मजदुर, युवा, महिला, शिक्षक, व्यवसायी र आम नागरिकका सपना, पीडा र अपेक्षालाई राज्यका नीति र निर्णयमा रूपान्तरण गर्ने जिम्मेवार केन्द्र हो। उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पदलोलुपता नभई नयाँ सोच, जवाफदेही नेतृत्व, सुशासन र जनमुखी राजनीतिको प्रतिबद्धता भएको स्पष्ट पारेका छन् ।
यसैबीच, प्रकाश कठायतको उम्मेदवारीपछि डोटीको राजनीतिक समीकरण एकाएक फेरिएको राजनीतिक वृत्तमा व्यापक चर्चा छ। जिल्लाका निवर्तमान सांसद तथा पूर्व मन्त्री प्रेम आले यसपटक डोटीबाट उम्मेदवारी नदिई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ तर्फ केन्द्रित हुने तयारीमा रहेको विषय सार्वजनिक भएसँगै डोटीमा नयाँ पुस्ताको सशक्त नेतृत्व उदाएको विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार जनआकर्षणको केन्द्र परिवर्तन हुनु, प्रतिस्पर्धा एकतर्फी बन्दै जानु र युवा नेतृत्वप्रति बढ्दो भरोसाले यो अवस्था सिर्जना गरेको हो।
पार्टीबाट डोटी जिल्लाबाट एकल सिफारिस प्राप्त गरेपछि कठायतले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै यसलाई जनसंघर्ष र सामाजिक अभियानको मान्यता भएको बताएका छन्। लामो समयदेखि जनस्तरमा गरेको काम, स्पष्ट राजनीतिक दृष्टिकोण र प्रत्यक्ष जनसम्पर्ककै कारण अहिले उनलाई डोटीको सबैभन्दा सशक्त, भरोसायोग्य र जित नजिकको उम्मेदवारका रूपमा हेरिएको छ।
अन्त्यमा, कठायतले सम्पूर्ण डोटीवासीलाई अमूल्य मतमार्फत समर्थन गर्न अपिल गर्दै आगामी निर्वाचनलाई परिवर्तन, सुशासन र जवाफदेही राजनीतिको निर्णायक अवसर बनाउन आग्रह गरेका छन्। डोटीमा देखिएको जनलहर र उत्साहले यस निर्वाचनलाई केवल प्रतिस्पर्धा मात्र नभई नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिन थालेको छ।
















प्रतिक्रिया दिनुहोस्